शनिबार कांग्रेसको देशभर विरोध प्रदर्शन

असल शासन प्रतिनिधि

नेपालगन्ज- प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले बाँकेको ८ वटै स्थानीय तहलगायत देश भर विरोध प्रदर्शन गर्दै छ ।  नेपाली कांग्रेसले शनिबार गर्न लागेको विरोध प्रदर्शनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल नेपालगन्ज आइपुगेका छन् । बाँकेमा हुने विरोध सभालाई नेपाली कांग्रेसका विभिन्न नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालगन्ज उपमहानगर समितिको आयोजनामा नेपालगन्जको रामलीला मैदानस्थित सरस्वती मन्दिर नजिक हुने विरोध सभालाई नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले सम्बोधन गर्ने छन् ।

शनिबार बिहान ११ बजे उक्त विरोध सभा सुरु हुने नेपाली कांग्रेस नेपालगन्ज उपमहानगर सभापति प्रशान्त बिस्टले जानकारी दिएका छन्। यस्तै डुडुवा गाउँपालिकाको बनकट्टीमा दिउँसो आयोजित विरोध सभालाई पनि नेता रिजालले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसका क्षेत्रीय सभापति रमेश गुप्ताले जानकारी दिए । कार्यकमलाई सम्बोधन गर्न नेता रिजाल शुक्रबार बेलुकी नै नेपालगन्ज आइसकेको कांग्रेस बाँकेका जिल्ला सदस्य सुधान्सु कोइरालाले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेसले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech