‘च्यातिएको जुत्ता’मा खुसी खोज्ने ‘पिरीमा’

बाजुराको हिमाली गाउ“पालिका वडा नम्बर ६ धिमबाट जुत्ता सिलाउने कामका लागि कोहलपुर झरेकी हुन् पिरीमा । सीप सिकेपश्चात् दिनको ५ सयदेखि ७ सय रुपैयाँ आम्दानी हुने गरेको उनी बताउँछिन् ।

सावित्री गिरी

नेपालगन्ज–बाँकेको कोहलपुर बजारको उज्ज्वल मेडिकल चोकमा पिरीमा सार्कीले जुत्ता सिलाउन लागेको डेढ वर्ष भयो । पीपलको छहारीमुनि च्यातिएको जुत्ताभित्र खुसी खोजी रहेकी पिरीमा सार्कीले हिजोका दिनमा दैनिक ज्यालामा मजदुरी गर्थिन । कहिले काम पाइने अनि कहिले काम नपाइने भएपछि उनले जुत्ता सिलाउने पेसा रोजिन । सुरुमा उनलाई यसबारे केही पनि ज्ञान थिएन । उनले जुत्ता सिलाइ सम्बन्धी तालिम लिइन् र सिकेको सीप व्यवहारमा उतारिन् ।


महिलाले सडकमा बसेर जुत्ता सिलाएको दृश्य धेरैका लागि अनौठो लाग्ने गर्छ । पुरुषले मात्र गर्दै आएको यो व्यवसायमा महिलाको पनि सहभागिता देखिएपछि यो दृश्यले फरक रूप लिएको हो । बाजुराको हिमाली गाउ“पालिका वडा नम्बर ६ धिमबाट जुत्ता सिलाउने कामका लागि कोहलपुर झरेकी हुन् पिरीमा । सीप सिकेपश्चात् दिनको ५ सयदेखि ७ सय रुपैयाँ आम्दानी हुने गरेको उनी बताउँछिन् । उनी २ छोरालाई निजी स्कुलमा पढाउन सक्षम भएकिछिन् र उनका श्रीमान पनि उनको यो कर्म देखेर खुसी छन् ।
सुरुका दिनमा बीच बजारमा बसेर जुत्ता सिलाउने काम गर्दा आफन्त तथा साथीभाइले अपहेलना गर्ने गरेको अनुभव पिरीमासँग छ । तर त्यो कुरालाई वास्ता नै गरिनन् उनले । उनी भन्छिन्, ‘काम सानो र ठूलो हँुदैन, परिश्रम गर्नु पर्छ सफल भइन्छ ।’ यही सोचका कारण हिजोका दिनमा घरखर्च चलाउन धौधौ पर्ने उनी आज सन्तुष्ट छिन् । उनी अहिले साथीभाइलाई पनि सहयोग गर्न सक्ने भएको बताउँछिन् ।
बिहानदेखि बेलुकीसम्म चौतारीमा बसेर पिरीमाले गर्ने यो कामले राम्रो सन्देश दिएको छ । कसैको सहयोग पाए व्यवसायलाई विस्तार गर्ने बताउँदै २९ वर्षे पिरीमा भन्छिन्,‘मेरा पुर्खाले यो काम गरेनन्, तर मलाई यो कामबाटै केही गर्ने इच्छा भएका कारण लागेकी हुँ, सुरुका दिनमा विरोध भए पनि अहिले सबै सकारात्मक छन् ।’

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech