‘कांग्रेसलाई सत्तामा जान हतार छैन’ : डा. रिजाल

असल शासन प्रतिनिधि

नेपालगन्ज- नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजालले नेपाली कांग्रेसलाई सत्तामा जान अहिले कुनै हतार नभएको बताएका छन् । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगर र डुडुवा गाउँपालिका स्तरिय समितिले शनिबार छुट्टा–छुट्टै स्थानमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै पुर्वमन्त्री रिजालले यस्तो धारणा राखेका हुन् ।

‘नेपाली कांग्रेसका लागि संबिधान जोगाउने पहिलो जिम्मेवारी हो, संबिधान जोगियो भने, लोकतन्त्र जोगियो भने मात्र देश जोगिन्छ, त्यसपछि हामी समृद्धिको बाटोमा जान सक्छौं, कांग्रेसलाई सत्ताको चिन्ता होइन,’ उनले भने । कांग्रेसले दुःख गरेर बनाएको संबिधान अहिले धरापमा परेको भन्दै संबिधान जोगाउने दायित्व नेपाली कांग्रेसकै भएको नेता रिजालले स्पष्ट पारे । उनले थपे, ‘सत्तामा पुगिन्छ कि भन्ने कांग्रेसको माग होईन, कांग्रेस सत्तामा जान्छ, कांग्रेसले नेपाललाई समृद्धिको बाटोमा लैजान्छ, तर संबिधान भत्काएर होईन, संबिधानलाई शिरमा राखेर जान्छ कांग्रेस ।’ नेपाली कांग्रेस संबिधानलाई शिरमा राखेर संसद र जनताको घरमा जाने केन्द्रिय सदस्य रिजालले धारणा राखे । नेपालको नायक नेपाली जनता भएको भन्दै उनले कम्युनिष्टहरुको अशली चरित्रलाई जनताले मुल्यांकन गर्नुपर्ने बेला आएको बताए । कम्युनिष्ट पार्टीभित्रको आन्तरिक कलहका कारण प्रतिनिधी सभा विघटन भएको उनले स्पष्ट पारेका छन् ।

प्रतिनिधी सभा विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव गर्ने नियत नरहेको नेता रिजालको बुझाई छ । ‘ओलीले चुनाव गर्नका लागि संसद विघटन गरेका होईनन्, चुनाव गर्ने मान्छे पार्टी फुटाएर चुनावमा जादैन, हिजो चुनावमा जाँदाखेरी प्रचण्डलाई मिलाएर जाने ओली आज चुनावमा जानका लागि प्रचण्डलाई निकालेका हुन् त ?’ उनले प्रश्न गरे । प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भइसकेको भन्दै संसद पुर्नस्थापना भएपनि वा निर्वाचन भएपनि सत्ताबाट बाहिरिने ठोकुवा गरे । ‘ओली निर्वाचन भएपनि जान्छन्, संसद पुर्नस्थापना भएपनि जान्छन्, तर को जाने, को नजाने भन्ने महत्वपुर्ण कुरा होईन, नेपालमा विधिको शासन रहने कि नरहने भन्ने महत्वपुर्ण कुरा हो ।’ संबिधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने अधिकार कतै नभएको पुर्वमन्त्री रिजालले ठोकुवा गरे । प्रधानमन्त्री ओली अधिनायकवादको बाटोमा हिडिरहेको र उनले कानुन, संबिधान, अदालत, न्यायालय, लोकसेवा आयोग, निर्वाचन आयोग सबैलाई आफ्नो हातमा लिएको आरोप लगाए । अर्को प्रसंगमा कांग्रेस केन्द्रिय सदस्य रिजालले पार्टी महाधिवेशनको महोलले पनि सबैलाई छोएको बताए । ‘पार्टीको महाधिवेशनमा सभापति, महामन्त्री लगायत सबै पदमा दुई भन्दा बढी ब्यक्तिको उम्मेदवारी रहन्छ,’ उनले भने । दुबै ठाउँमा आयोजित बिरोध सभालाई कांग्रेस बाँकेका सभापति किरण कोइराला, पुर्व सभापति गजेन्द्र हमाल, प्रदेश सांसदद्धय सुरेन्द्र हमाल र मोहम्मद याकुव अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, कांगे्रस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, कांग्रेस नेता निरन्जनसिंह सिजापति, कांग्रेस नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्ट, युवा नेता शिवकुमार बर्मा लगायतले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गरेको प्रतिनिधी सभा विघटनको बिरोधमा नेपाली कांग्रेसले शनिबार बाँकेका ८ वटै स्थानीय तहमा बिरोध सभा सम्पन्न गरेको छ ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech