सापकोटाद्वारा १६० ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज–बाँकेको नेपालगगगन्ज उपमहानगरपालिका–२० का १६० जना ज्येष्ठ नागरिकलाई शनिबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको छ । स्थानीय समाजसेवी नमराज सापकोटाको एकल प्रयासमा उक्त कपडा वितरण गरिएको हो । विगत लामो समयदेखि ज्येष्ठ नागरिक, विकलाङ्ग नागरिक तथा विद्यार्थीलाई समेत विभिन्न प्रकारका सहयोग गर्दै आएका सापकोटाले ज्येष्ठ बाबुआमा, विकलाङ्गलगायतका १६० जनालाई न्यानो कपडा स्वरुप टोपी, कम्बल तथा सल प्रदान गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला बाँकेका अध्यक्ष नरेन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न असहाय विपन्न तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले वर्तमान अवस्थामा नागरिकले सरकारको उपस्थितिको अनुभव नगरी रहेको परिस्थितिमा गरिएको सहयोग प्रशंसनीय भएको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै स्थानीय पूर्व मनिकापुर गाविस अध्यक्ष पदम अर्यालले राजनीतिलाई कमाउने भाँडोको रुपमा लिँदा अहिले जनतालाई जनप्रतिनिधिहरुबाटै धोका भएको बताए । पूर्व अध्यक्ष अर्यालले राजनीति भनेको सेवा हो तर यसरी वृद्धवृद्धाको सेवा गर्नु जस्तो महान काम अन्य नभएको हुँदा यसलाई महायज्ञको रूपमा लिनु पर्ने बताए ।
सञ्चारकर्मी कमल विके निर्मोहीले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी खुमा ओलीले स्वागत मन्तव्य राखेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला युवा संगठनका अध्यक्ष हुकुम केसी, समाजसेवी धनराज छन्त्याल, शिवलाल जैसी, विशेश्वरप्रसाद दाहाललगायतले आआफ्नो धारणा राखेका थिए ।

 

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech