मालपोतमा टोकन प्रणाली

असल शासन प्रतिनिधि

नेपालगन्ज–भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा ढिलासुस्ती र अनियमितता भएको गुनासो आउन थालेपछि कार्यालयको सेवालाई सहज र सरल बनाउन विभिन्न प्रयासहरु हुन थालेका छन् । केही समय अगाडि सेवाग्राहीहरुको सहजताको लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको भूमिसुधार तथा मालपोत कार्यालयले टोकन प्रणालीबाट सेवा सञ्चालन गरेको छ । कार्यालयबाट नागरिकलाई दिइने सेवा प्रभावकारी बनाउने उद्देश्यले टोकन प्रणालीबाट सेवा प्रदान गर्न मंगलबारदेखि टोकन प्रणाली सुरु गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले कार्यक्रमको ब्यानर पढेर सेवाको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै राणाले टोकन प्रणाली लागु भएपछि मालपोत कार्यालयलाई लाग्दै आएको आरोप कम हुने र नागरिकलाई सेवा लिन सहज हुने बताए ।

यो प्रयासबाट विभिन्न समस्याको सामना गर्दै आएको मालपोत कार्यालयमा सुशासनको प्रत्याभूति हुने बताउँदै मालपोत कार्यालयको सेवामा सुधार ल्याउन सबैको हातेमालो आवश्यक रहेको राणाको भनाइ थियो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले नागरिकले कार्यालयमा आएर अलमलमा पर्ने अवस्थाको अन्त्य गर्दै सरल र सहज रुपमा पालैपालो सेवाग्राहीले चाहे अनुसारको फाँटबाट सेवा प्रदान गर्न टोकन प्रणालीको सरुवात गरिएको बताए । प्रजिअ कुरुम्वाङले नागरिकको सेवा पाउने अधिकारमा बिचौलियाको हाबी बढ्दो रहेकाले अब यस प्रणालीले त्यसको अन्त्य हुने बताए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा बोल्दै भूमिसुधार तथा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख अमर सेजुवालले कार्यालयबाट प्रदान गरिने सेवालाई सेवाग्राहीमैत्री बनाउन प्रयास गरिएको बताए । नागरिकहरुको अत्याधिक भिडभाड हुने र बढी कामकाज हुने कार्यालयको रुपमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयमा सेवा लिने सेवाग्राहीले दुःख पाउने, समयमा काम नहुने र भ्रष्टाचार हुने गरेको आरोप लाग्दै आएको छ । कार्यालयलाई लाग्दै आएका आरोपलाई निस्तेज गरी सेवाग्राहीलाई सेवा लिन सहजताका लागि टोकन प्रणालीको सुरुवात गरिएको निमित्त कार्यालय प्रमुख सेजुवालको भनाइ छ ।

  • ६ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech