भारतीय टिमलाई हराउँदै मसुरिया एकेडेमी फाइनलमा प्रवेश

असल शासन प्रतिनिधि

नेपालगन्ज– मसुरिया एकेडेमी कैलालीले भारतीय टिम सहारा एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । बाँकेमा सञ्चालन भइरहेको स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनमा मसुरियाले सहारालाई टाइब्रेकरमा हराउँदै फाइनलको यात्रा तय गरेको हो । जयकिसान स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिताको मंगलबार संचालन भएको पहिलो सेमिफाइनलमा खेलभर मसुरिया र सहाराबीच १–१ गोलको बराबरी रह्यो ।

खेलमा सहाराका खेलाडी समुअल राजले ३७ मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको १३ मिनेटमा मसुरियाका खेलाडी चेतन कठाएतले गोल गरेर खेललाई बराबरी बनाएका थिए । टाइब्रेकरमा भने मसुरियाका दिवस बोहोरा, चेतन कठाएत, हेमन्त क्षेत्री, ओमप्रकास चौधरी र विष्णु चौधरीले गोल गरे ।

सहाराका तर्फबाट समुअल राज, कमल थापा, जाभेद खानले गोल गरे भने सन्जय सिंहको बल प्रहारलाई सहाराका गोलकिप्परले छेक्न सफल भएका थिए । मसुरियाले फाइनलमा कपका लागि बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा आयोजक जयकिसान स्पोर्टस क्लब ‘ए’ र एफएफएसए दाङले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अन्तिम फाइनल खेल माघ ९ हुनेछ । खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

  • ६ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech