‘राजनीति फोहोरी खेल,’ पहाडी

न्यायपालिकालाई नै अपमान गर्ने तवरले विभिन्न समयमा सरकारबाट चालिएको कदमका कारण नेपालको राजनीति फोहोरी बन्दै गएको नेता पहाडीले बताएका हुन् ।

असल शासन प्रतिनिधि

नेपालगन्ज– पछिल्लो समय नेपालमा घटेका विभिन्न घटना क्रमले नेपालको राजनीति फोहोर बन्दै गएको मानव अधिकारवादी नेता कृष्ण पहाडीले बताएका छन् । न्यायपालिकालाई नै अपमान गर्ने तवरले विभिन्न समयमा सरकारबाट चालिएको कदमका कारण नेपालको राजनीति फोहोरी बन्दै गएको नेता पहाडीले बताएका हुन् ।
कोभिड भाइरस, राजनीतिक भाइरस र खड्क प्रसाद भाइरसका कारण आम नागरिकले सास्ती भोग्नु परेको बताउँदै पछिल्लो समय ठूलो बलिदानीपश्चात् प्राप्त गणतन्त्रको धज्जी उडाउने तवरले संविधान मिचिनु दुर्भाग्य भएको बताए । दलमा उत्पन्न किचलोका कारण भावी पुस्ताले दुःख पाउने बताउँदै उनले न्यायमूर्ति सडकमा आउनु पर्ने बाध्यता सिर्जना गरिँदा र प्रेस स्वतन्त्रताको घाँटी काट्ने ऐन ल्याउँदासमेत राजनीतिक दल चुप लाग्न नहुने बताए ।
चीनमा भएको आणविक अस्त्रविरुद्धको आन्दोलनबाट २५ वर्ष अघि शान्ति समाजको स्थापना भएको बताउँदै पहाडीले नेपालको विदेश नीति अन्य देशको नीतिबाट प्रेरित हुने बताए । देशमा बनेका नीति नियमलाई आफूले पालना गर्नुको साटो प्रधानमन्त्री केपी ओलीको चरित्र बहुरूपी भएको आरोप लगाए ।
पञ्चायतकालमा समेत सरकारको नेतृत्व गर्नेहरुको विरोध हुने गरेको उदाहरण दिँदै पहाडीले प्रधानमन्त्री खड्क प्रसादका दासहरुले संविधान विपरीतको काम हुँदा समेत विरोध गर्ने साहस नदेखाएको आरोप लगाए । उनले असंवैधानिक कदमका विरुद्ध सबै एकजुट भई संविधान रक्षाका लागि लाग्नु पर्ने बताए ।
केपी ओलीद्वारा गरिएको संसद विघटन अमानवीय, असंवैधानिक र अप्राकृतिक भएको उनले बताए । कार्यक्रममा अधिवक्ता प्रह्लाद बहादुर कार्की, विश्वजित तिवारी, व्यवसायी नन्दलाल वैश्य, गैससकर्मी नमस्कार शाहलगायतले बोलेका थिए । कार्यक्रममा चर्चित कवि अर्जुन पराजुलीले असंवैधानिक कदमविरुद्ध कविता वाचन गरेका थिए ।
मानवअधिकार तथा शान्ति समाज बाँकेका अध्यक्ष प्रभाकर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष उत्तम पुडासैनी र महासचिव सुशील बस्नेतले आआफ्नो धारणा राखेका थिए ।

  • ८ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech