१९ वर्षीया किशोरी बनिन् एक दिनको मुख्यमन्त्री !

असल शासन प्रतिनिधि

एजेन्सी– एक दिनको लागि कसैलाई मुख्यमन्त्री बनाइयो भने सुन्दै अचम्म लाग्छ । तर भारतको उत्तराखण्डमा आइतबार एक १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री बन्दैछिन्। भारतीय सञ्चार माध्यमका अनुसार  भारतको उत्तराखण्डमा सृष्टि गोस्वामीलाई सरकारले नै एक दिनको लागि मुख्यमन्त्री बनाएको हो ।

हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि कार्यकारी अधिकारसहित एक दिनको मुख्यमन्त्री बन्ने भएकी हुन् । उनको उपस्थितिमा विधानसभा बैठक पनि बस्नेछ।

उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाइएको हो।

एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरणका लागि जागरूकता फैलाउनु भएको नेगीले जानकारी दिएको सञ्चार माध्यमले जनाएका छन्।

एक दिनको कार्यकालमा सृष्टिले विकास कार्यक्रमको समीक्षा गर्नेछिन्। सृष्टिले बीएसएम पीजी कलेज रुडकीमा बिएस्सी कृषि अध्ययन गर्दैछिन्। २०१८ मा बाल विधानसभामा बाल विधायकहरुको तर्फबाट उनलाई मुख्यमन्त्री चयन गरिएको थियो। बाल विधानसभामा हरेक ३ वर्षमा एक बाल मुख्यमन्त्री चयन गरिन्छ।

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech