११ सदस्सीय कार्यसमिति चयन गर्दै फातिमा फाउण्डेसनको ५ औं अधिवेशन सम्पन्न

असल शासन प्रतिनिधि

फातिमा फाउण्डेसन नेपालको १६ औं साधारण सभा तथा ५ औं अधिवेशन शनिबार नेपालगन्जमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहम्मदी सिद्धिकीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन पूर्व सहरी विकास मन्त्री इस्तियाक राईले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दे मन्त्री राईले सामाजिक विकासका लागि निरन्तर काम गर्नु चुनौतीपूर्ण रहेको बताउँदै क्रियाशील संस्थालाई राज्यका निकायहरुले पनि सहयोग गर्नु पर्ने बताए । उनले फातिमा फाउण्डेनको गतिविधिको उपलब्धिलाई मूल्याङ्कन गर्दै आगामी यात्राका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा, नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका पूर्व अध्यक्ष नन्दलाल वैश्य, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेका अध्यक्ष जयन्ती खत्री, संस्थाका सल्लाहकार रविन्द्र कर्ण, वसन्त गौतम र विश्वजित तिवारीलगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमका वक्ताले महिला तथा बालबालिकाको हकहित, सशक्तीकरण, बालविवाह न्युनीकरण र सीपमूलक तालिमका लागि संस्थाले खेलेको भूमिकाको चर्चा गरेका थिए । संस्थाले विभिन्न जनचेतनामूलक तथा सामाजिक सवालमा स्थानीय सरकारसँग अन्तक्र्रिया समेत गर्दै आइरहेको छ ।

नयाँ कार्यसमिति चयन

संस्थाको ५ औं अधिवेशनले मोहम्मदी सिद्धिकीको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । जसको उपाध्यक्षमा शाक्रा बानु दर्जी, सचिवमा चाँदनी बानु इद्रिसी, सहसचिवमा साफिया खान, कोषाध्यक्षमा स्वेदा फरिन र सहकोषाध्यक्षमा लक्ष्मी तिवारी रहेका छन् । यसैगरी सदस्यमा मैमुना सिद्धिकी, हासमा पठानिन, गंगा वली, राधा केवट र नुरजहाँ बानु रहेका छन् ।
संस्था स्थापनादेखि हालसम्म अध्यक्षको भूमिका निभाउँदै आएकी अध्यक्ष मोहम्मदी सिद्धिकीले सामाजिक क्षेत्रमा सञ्चालित कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै सस्थाको दिगो विकासका लागि योजना बनाएको बताइन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, युवा तथा बालअधिकारकर्मी, सञ्चारकर्मीलगायत ६५ जनाको सहभागिता रहेको थियो ।

  • १२ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech