डुडुवा बाँकेकै पहिलो पूर्णखोप सुनिश्चितता पालिका बन्न सफल

असल शासन प्रतिनिधि

नेपालगन्ज–डुडुवा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपनामा जिल्लाकै पहिलो पालिका बन्न सफल भएको छ । पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाले सबै किसिमका खोपहरु लगाएपछि पालिकालाई जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए । उनका अनुसार डुडुवा पहिला नै पूर्ण खोप गाउँपालिका घोषणा भए पनि दिगोपना नभएकाले मंगलबारदेखि जिल्लाको पहिलो पालिकाको रूपमा दिगोपना भएको हो ।
एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहुन भनेर विशेष अभियानमूलक कार्यक्रम सञ्चालन गरेको बताए । उनले निःशुल्क औषधी उपचार, प्रयोगशाला जाँच, एम्बुलेन्स सेवालगायतका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको भन्दै सेवाबाट वञ्चित नागरिकलाई समेत सेवा उपलब्ध गराएको बताए ।
स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएर पालिकाले काम गरिरहेको बताउँदै अध्यक्ष चौधरीले स्वास्थ्यका क्षेत्रमा कुनै पनि कमी कमजोरी नहुने गरी र सेवाग्राहीलाई सहज तरिकाले सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिए ।
जन्मदेखि १५ महिनासम्मका १ हजार ४ सय ४१ जना बालबालिकाले नियमित रूपमा सबै प्रकारका खोपहरु प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख बुढाले बताए । गाउँपालिकाको वार्ड नं. १ देखि ६ वडासम्मका १६ देखि २३ महिनाका जम्मा ७ सय ५१ जना बालबालिका नियमित खोप लिनबाट छुटेका थिए । ती बालबालिकालाई पनि घरदैलोमै गएर खोप लगाएपछि पालिकाभित्र रहेका उमेर पुगेका सबै बालबालिकाले खोप लिएका छन् ।
जिल्लाकै पहिलो पूर्णखोप पालिका भएपछि पूर्ण खोप जिल्ला समितिले दिगोपनाको प्रमाणपत्र प्रदान गरेको छ । स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चैन निरीक्षक जनक गिरीले उक्त प्रमाणपत्र पालिका प्रमुख चौधरीलाई हस्तान्तरण गरे । घोषणा कार्यक्रममा कार्यपालिका सदस्य लिलावती यादव, ढोडे पासी, सुष्मा यादव, सदस्य नेतराम मौर्य लगायतको उपस्थिति रहेको थियो ।
यही फागुन ३० गतेभित्र बाँके जिल्लालाई पूर्ण खोप तथा दिगोपना घोषणा गरिसक्नु पर्नेछ । फागुन १५ गतेभित्र जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप तथा दिगोपना घोषणा हुन स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पसर्न भेषराज शर्माले बताए । उनका अनुसार ३ वटा पालिका पूर्ण खोप र दिगोपना दुवै घोषणा हुन बाँकी छन् भने ४ वटा पालिका खोपको दिगोपना मात्र घोषणा हुन बाँकी रहेका छन् ।

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech