नेपालगन्जको आठौं नगरसभा सम्पन्न, विभिन्न ऐन पारित

असल शासन प्रतिनिधि

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न ऐन पारित गर्दै आठौं नगर सभा सम्पन्न गरेको छ । बिहीबार भएको आठौं नगरसभाले बालबालिका सम्बन्धि ऐन–२०७७, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन– २०७७ समेत पारित गरेको छ । नगर प्रमुख डा. धवलशमशेर राणाले पेश गरेको प्रस्ताव नगरसभाले सर्वसम्मतिले पारित गरेको हो ।
नगरसभाले वडागत बजेट रकमान्तरण, नगर भवन पुननिर्माण, अस्पतालजन्य फोहोरमैला व्यवस्थापनलगायतका प्रस्ताव पनि पारित गरेको छ ।
नगरसभामा नगर प्रमुख डा. राणाले नगरभित्र लामो समयदेखि रोकिएर रहेका विकास आयोजना अघि बढेको भन्दै विकासले गति लिएको बताए । मुख्य सडक र नालीको निर्माण सम्पन्न भएको छ , नगर प्रमुख राणाले भने,‘सबै पक्षको साथ र सहयोगमा विकासले फड्को मारेको छ । पार्क, सभाहल निर्माणको चरणमा रहेको, ल्याण्डफिल साइट र रंगशाला तथा बसपार्क निर्माण भएको भन्दै उनले क्रिकेट रंगशालाको समेत निर्माण सुरु भएको जानकारी दिए ।
उपप्रमुख उमा थापा मगरले जनताका अपेक्षा पूरा गर्नका लागि आफूहरु लागिपरेको बताउँदै यसबीचमा नगरबासी र कर्मचारीबाट पर्याप्त साथ र सहयोग पाएको बताइन् ।
यसैबीच नगरसभाले गतवर्ष नेपालगन्ज नगरभित्रका छाडा पशु चौपाया व्यवस्थापनका सम्बन्धमा दुर्घटना भएको भन्दै सम्पूर्ण जिम्मेवारी उप–महानगरपालिकाले लिने निर्णय गरेको छ । कर्मचारीहरुले आदेशको पालना गर्नेक्रममा घटना भएका कारण त्यसको सम्पूर्ण जिम्मेवारी उपमहानगरपालिकाले लिने निर्णय नगरसभाले सर्वसम्मत पारित गरेको हो । उपमहानगरपालिकाले राम्रो मनसायका साथ काम गरिए पनि दुर्घटनावश घटना भएको जनाएको छ ।
त्यस्तै नगरसभामा इन्टिग्रिटी आइडल–२०२० का विजेता जनस्वास्थ्य निरिक्षक आरती चौधरीलाई सम्मान गरिएको छ ।

 

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech