बलात्कार घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षको सहयोग

असल शासन प्रतिनिधि

बलात्कार घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षको सहयोग

बाँके– बलात्कार घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षले माघ १६ गते सहयोगबापत १० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । डिसिएको सहयोगमा इन्सेक नेपालगन्जमा सचिवालय रहेको मानव अधिकार सहायता कक्षको माघ १५ गते बसेको बैठकले बलात्कार पीडित १४ वर्षीया बालिकाको उपचार सहयोग गर्ने निर्णय गरेको थियो ।

मानव अधिकार सहायता कक्षका सदस्य एवम् गैसस महासंघ जिल्ला शाखा अध्यक्ष नमस्कार शाहले पीडितका बुवालाई उक्त रकम हस्तान्तरण शुक्रबार हस्तान्तरण गरेका छन् । बौद्धिक अपाङ्गता भएकी बालिकालाई अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै पीडितका बुवाले कानुनी तथा स्वास्थ्य उपचारमा आवश्यक सहयोग गरिदिन भन्दै इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगन्जमा पुस २३ गते निवेदन दिएका थिए । बालिका बिरामी भएपछि पुस १८ गते शिक्षण अस्पताल, कोहलपुरमा उपचारको क्रममा आठ हप्ताको गर्भ रहेको चिकित्सकले बताएपछि बलात्कृत भएको जानकारी पाएको पीडितका बुवाले बताए ।

इन्सेकको सिफारिसमा पीडितको पुस २३ गते भेरी अस्पताल नेपालगन्जमा उपचार गरिएको थियो भने इन्सेककै सहयोगमा पीडितपक्षले इलाका प्रहरी कार्यालयमा पुस २२ गते उजुरी दर्ता गराएका थिए । आरोपितलाई पीडितले नचिनेका कारण आरोपित को हो ? भन्ने कुरा नखुलेको इलाका प्रहरी कार्यालयका सई रणधीर जैसीले बताए । पीडित बालिकाको स्वास्थ्य अवस्था कमजोर रहेकोले थप उपचारको लागि सहयोग रकम प्रदान गरेको इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले बताए । सहयोग रकम बुझ्दै पीडितका बुवाले प्राप्त रकमले छोरीको थप उपचारमा सहयोग पुग्ने बताएका छन् ।

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech