होस गरौं, मदिराले लिन्छ ज्यान

असल शासन प्रतिनिधि

नेपालगन्ज– नेपालगन्जको विभिन्न दुई स्थानमा मदिराले लठ्ठ परेर दुई व्यक्ति शनिबार बाटोमै सुतिरहेका भेटिए । ती मध्ये एक व्यक्ति हाइवे सडक किनारमा साइकिलसँगै लडिरहेका भेटिएका छन् भने अर्का एक व्यक्ति नालासँगै रहेको फोहर नजिकै नशाले लठ्ठिएर सुतेका भेटिए । ८ देखि १० डिग्री सेल्सियसको चिसोमा उनीहरु सडक छेउ र नाला माथि लडेको देख्ने केही व्यक्तिले उनीहरुको फोटो खिचेका थिए भने कोही उनीहरुलाई नानाभाँती गाली गरेर नाक थुन्दै हिँडिरहेका थिए ।

यसरी होसहवास गुमाउने तरिकाले उनीहरुले मदिरा सेवन गर्दा एकातर्फ उनीहरुलाई चिसोका कारण हुने स्वास्थ्य समस्याको जोखिम त थियो नै अर्कोतर्फ बाटोमा हिँड्ने सवारी साधनबाट हुन सक्ने सम्भावित दुर्घटनाको जोखिम पनि उत्तिकै देखिन्थ्यो भने केही गरी घर पुगिहाले घरायसी माहोल कस्तो हुन्छ त्यो अनुमान मात्र गर्न सकिन्छ ।

तसर्थ मदिरा सेवन गर्नु राम्रो होइन । मदिरा सेवन गरेका व्यक्तिद्वारा सडक दुर्घटना लगायत हिंसात्मक घटनाहरु पनि हाम्रै समाजमा घटेका छन् ।

हुन त मदिरा सेवन गर्नु स्वास्थ्यका हिसाबले पनि राम्रो नहुने विभिन्न अध्ययनले पुष्टि गरेको छ । केही समय अघि सीमित मात्रामा प्रत्येक दिन मदिरा सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने मान्यतालाई पनि एक नयाँ अध्ययनले चुनौती दिएको छ।

ल्यान्सेट जर्नलमा प्रकाशित एउटा शोधका अनुसार दिनमा थोरै वा ठिक्क मात्रामा मादक पदार्थ सेवन गर्दा पनि रक्तचाप बढ्न सक्छ र त्यसले मस्तिष्काघात हुने सम्भावना बढाउँछ।

सो अध्ययनका लागि पाँच लाख चिनियाँहरूलाई १० वर्षसम्म नियालिएको बीबीसीले जनाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार उक्त निष्कर्ष विश्वका सबै खाले मानिसहरूका लागि उपयुक्त छ। मदिराले मानिसमा कस्तो असर पार्छ भन्नेबारे यो निष्कर्ष सबैभन्दा राम्रो प्रमाण भएको उनीहरूले बताएका छन्।

अत्यधिक मात्रामा मदिरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक भएको र त्यसले मस्तिष्काघातको सम्भावना बढाउने कुरामा विवाद थिएन। तर अन्य केही अध्ययनले भने कम मात्रामा नियमित मदिरा सेवन गर्नु शरीरका लागि राम्रो हुने निष्कर्ष निकालेका थिए।

अक्स्फर्ड विश्वविद्यालय, पेकिङ विश्वविद्यालय र चाइनिज अक्याडमी अफ मेडिकल साइन्सका अनुसन्धानकर्ताले प्रत्येक दिन (१४ ग्राम शुद्ध एल्कहल सेवन हुनेगरी) एउटा मदिरा सेवन गर्दा मस्तिष्काघातको सम्भावना १० देखि १५ प्रतिशतले बढ्छ भने  दिनमा चारवटासम्म मदिरा सेवन गर्ने मानिसमा मस्तिष्काघातको सम्भावना ३५ प्रतिशत बढी हुन्छ भन्ने पत्ता लगाएका थिए ।

तस्बिरहरुः अशोक  रावल

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech