नेपालगन्जमा फागुन ७ र ८ गते फोटो फेस्टिवल

५ वटा विधामा खुला प्रतिस्पर्धा हुनेछ । हरेक विधामा उत्कृष्ट एउटा फोटो पुरस्कृत हुने छ । सबै विधाबाट सर्वोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधि सहित पुरस्कृत गरिनेछ भने माघ मसान्त भित्र फोटो आइसक्नु पर्ने छ ।

असल शासन प्रतिनिधि

नेपालगन्ज– नेपालगन्ज फोटो फेस्टिवल आगामी फागुन ७ र ८ गते नेपालगन्जमा आयोजना गरिने भएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हुन लागेको यस फेस्टिवलमा लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चारकर्मी र सर्वसाधारणले खिचेका फोटो समावेश गरिनेछ । पछिल्लो २ वर्ष यता खिचिएको फोटोहरु इमेल ([email protected] )मार्फत फेस्टिवलका लागि पठाउन सकिनेछ ।
५ वटा विधामा खुला प्रतिस्पर्धा हुनेछ । हरेक विधामा उत्कृष्ट एउटा फोटो पुरस्कृत हुने छ । सबै विधाबाट सर्वोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधि सहित पुरस्कृत गरिनेछ ।
समाचार र दैनिक जीवन, संस्कृति र पर्यटन, वन्यजन्तु र प्रकृति, खेलकुद तथा नेपाल स्माइल(जस अन्तर्गत खुसी, उत्साह र उमंग झल्किने फोटो) गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ ।
फोटो कथा विधामा भने प्रतिस्पर्धा हुने छैन । यस विधामा कम्तीमा ५ देखी १२ वटा सम्म फोटो पठाउनु पर्नेछ ।
‘पछिल्लो समय, फेसबुक, इन्स्टाग्राम जस्ता सोशल मिडिया र स्मार्ट फोनका कारण पनि फोटोग्राफी क्रेज बढदै गएकोले सर्वसाधारणलाई पनि फेस्टिवलमा सहभागी गराउन लागिएको हो’–आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने, ‘इच्छुकले माघ मसान्त भित्र फोटो पठाइसक्नु पर्नेछ’ ।
प्रतिस्पर्धामा छनोट भएका १ सय ५० बढी फोटोहरु प्रदर्शनीमा राखिनेछ । फेस्टिवलका अवसरमा ३५ जना सहभागीका लागि २ दिने फोटोग्राफी कार्यशाला आयोजना गरिनेछ । राजधानी काठमाडौंबाट आउने वरिष्ठ फोटो पत्रकारहरुले उक्त कार्यशालामा सहजीकरण गर्नेछन् ।
यसैगरी फेस्टिवलकै अवसरमा प्रतिस्पर्धामा छनोट भएका फोटो खिच्ने फोटोग्राफर र सहभागीबीच उक्त फोटो खिच्दाका रोमाञ्चकारी अनुभव बारेमा अन्तरक्रिया आयोजना गरिनेछ । फेस्टिवलको अवसरमा स्ट्रीट फोटो प्रदर्शनी, मोबाइल फोटो प्रतिस्पर्धा, वेस्ट सेल्फी लगायतका आर्कषणहरु थपिएका छन् ।
यस वर्षदेखि नेपालगन्ज बाहिर पनि फोटो प्रदर्शनी यात्रा हुने आयोजक अन्तरालले जनाएको छ । लुम्बिनी प्रदेशमा अर्को एकठाउँमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको १–१ स्थानमा फोटो प्रदर्शनी यात्रा हुनेछ ।

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech