सोलार र चुलोको नाममा स्थानीय सरकारसँग मिलेर ठगी धन्दा

नक्कली कागज बनाउने चार जना पक्राउ

असल शासन प्रतिनिधि

जाजरकोट । नक्कली कागजात बनाएर सौर्य उर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै ठगी भन्दा गर्दै हिडेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका विभिन्न वडाबाट उक्त धन्दामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका ९ स्थायी ठेगाना भइ हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने बर्ष २६ का यज्ञप्रसाद रेग्मी र सोही ठाँउका ३३ बर्षिय लक्ष्मीप्रसाद हमाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए । त्यस्तै जाजरकोट बारेकोट १ रामीडाँडा निवासी ४० बर्षका हरिचन्द्र बस्नेत र सोही ठाँउका ३३ बर्षिय मानबहादुर महतारा पनि पक्राउ परेको थापाले बताए । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको छ ।

नलगाड नगरपालिकाले ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल नामक संस्थालाई सोलार वितरणका लागि अनुमति दिएको थियो । नगरको अनमुति अनुसार वडाध्यक्षहरुले नै अति विपन्न परिवारका लागि ८० वाट क्षमताको सौर्य उर्जा र ३५ केजी तौलको सुधारिएको चुलो जडान गरिदिने भन्दै प्रत्येक घरधुरीबाट तीन हजार सात सय ५० रुपैया संकलन गरेका थिए । सोलार र चुलोको मुल्य २५ हजार पर्ने भएपनि २१ हजार दुई सय पचार बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र ग्रामिण विकास तथा क्लीन इन्भरमेन्टले ब्यहोर्ने भन्दैै झुक्याएका थिए ।


बाँकि रकम ३ हजार सात सय पचासको दरले उनीहरुले वडा अध्यक्षसँग जम्मा गरेर आफुहरुले एकमुष्ठ उठाउन खोजको पाईएको छ । तीन हजार सात सयमै सोलार पाउने भएपछि गाउँलेहरुले धमाधम वडा अध्यक्ष कहाँ जम्मा गर्न थालेका थिए ।

जानकारी अनुसार उनीहरुले वडाध्यक्षहरुले नगद बुझेको नगदी रसिद नदिएर सामान बुझेको भरपाई गराएका थिए । एउटै वडाबाट ६ लाख रुपैया सम्म संकलन भैसकेको स्थानीयको भनाई छ । नलगाडका १३ वटै वडाबाट संकलन गरिएको रकम वडाध्यक्ष मार्फत उक्त संस्थालाई बैक मार्फत पठाउने फारम भरेको ४५ दिन भित्र समान उपलब्ध गराउने उल्लेख गरिएको थियो । भरपाई लगायतका कुरामा समेत शंकास्पद देखिएपछि उनीहरुको ठगि धन्दा सार्वजनिक भएको हो । नगरपालिकाले समेत संस्थाको आधिकारिकता बुझ्दै नबुझी अनुमति दिएकोले आफुहरु ठगिमा परेको स्थानीयको भनाई छ ।

आफ्नो संस्थाको नाम जोडेर रकम संकलन गरिरहेको जानकारी पाएपछि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले आइतवार एक विज्ञप्ती प्रकाशित गरि केन्द्रको कुनै सहकार्य, समन्वय र साझेदारी नरहेको स्पष्ट पारेको छ । केन्द्रका नायव कार्यकारी निर्देशक तथा प्रवक्ता नवराज ढकालले अनाधिकृत दुष्प्रचार र गलत कार्य गर्ने संस्थासँग सजग रहन आग्रह गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल नामक संस्थाले अनाधिकृत रुपमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्य रहेको दुष्प्रयास गदै जाजरकोट लगायतका केही जिल्लाका विभिन्न समुदाय, घरधुरीबाट सौर्य उर्जा र सुधारिएको चुलो जडानको लागि अमन इन्टेरियर एण्ड डेकोरेशन विजनेश ग्रुप नामक संस्थालाई जिम्मेवारी दिइएको भनी रकम संकलन गरेको जानकारी प्राप्त भएकोले उक्त सँस्थासँग यस बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कुनै समन्वय, सहकार्य र साझेदारी नरहेको तथ्य सवै सरोकारवालाहरुलाई जानकारी गराउँदछौ ।’ जिल्ला बाहिरबाट अनाधिकृत संस्था र ठगी कार्यमा प्रत्यक्ष संलग्न वडाध्यक्षका विरुद्ध समेत उजुरी दिने तयारी भैरहेको नलगाड नगरपालिका ३ का कमल प्रसाद रोकायले बताए ।

  • १९ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech