जेब्रा क्रसिङः ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’

सवारी दुर्घटना नहोस् भन्नका लागि जेब्रा क्रसिङ निर्माण गरिएता पनि मनपरी हिँड्ने प्रवृत्ति बढ्दै गएको छ । कतिपयलाई यस विषयमा जानकारी नै नभएको र कतिपयले जान्दा जान्दै पनि बेवास्ता गरेको अवस्था छ ।

साबित्री गिरी

पैदल यात्रुलाई सडक वारपार गर्न सहज होस् भन्ने उद्देश्यले सडकमा जेब्रा क्रसिङको व्यवस्था गरिएको हुन्छ । जेब्रा क्रसिङ चिन्ह् भएको स्थानमा सवारी चालकले सवारी साधन विस्तारै चलाउनु पर्छ । यो हेक्का न सवारी चालकलाई छ न त पैदल यात्रुलाई नै । सवारी चालक पनि हतार हतारमा सवारी साधन चलाउने अनि यात्रुहरु पनि जेब्रा क्रसिङको बेवास्ता गरेर मनपरी बाटो काट्ने गरेको देख्दा मलाई नरमाइलो लाग्यो । जुन दृश्य नचाहँदा नचाहँदै दिनहुँ हेर्नु पर्छ । एउटा प्रश्न मनमा उब्जिन्छ,’यदि सवारी दुर्घटना भइनै हाल्यो भने यसको जिम्मेवार को हुने भनेर ?’
सवारी दुर्घटना नहोस् भन्नका लागि जेब्रा क्रसिङ निर्माण गरिएता पनि मनपरी हिँड्ने प्रवृत्ति बढ्दै गएको छ । कतिपयलाई यस विषयमा जानकारी नै नभएको र कतिपयले जान्दा जान्दै पनि बेवास्ता गरेको अवस्था छ । जेब्रा क्रसिङ सामान्यतया अति व्यस्त सडकमा बनाइन्छ । जेब्रा क्रसिङ चिन्ह स्पष्ट देखिने गरी बनाउनु पर्छ तर, नेपालगन्ज–कोहलपुर चार लेन सडक अन्तर्गत नेपालगन्जमा बनाइएका जेब्रा क्रसिङ चिन्ह् अधिकांश मेटिएका छन् । मेटिएएका स्थानमा त्यसलाई देखिने बनाउने काममा पनि बेवास्ता भएको अवस्था छ । सहजतापूर्वक सडक वारपार गर्न बनाइएको जेब्रा क्रसिङ चिन्ह् पायक पर्ने ठाउँमा समेत छैन । जेब्रा क्रसिङ गरेर जाने स्थानमा बाटो निकास समेत व्यवस्थित छैन । जेब्रा क्रसिङकै बेला पनि दुर्घटना निम्तने खतरासमेत छ । किनभने जेब्रा क्रसिङ रहेको ठाउँको सडक पेटीमा फलामे बार (रेलिङ) निर्माण गरेको छ । यसले झनै यात्रुहरुलाई र नेपालगन्ज पहिलोपटक आउने व्यक्तिलाई अलमलमा पार्ने गरेको छ । ‘ज्रेबा क्रसिङ भएको ठाउँमा रेलिङ राखिँदा पैदल यात्रुहरु जोखिम मोलेर मुख्य व्यस्त सडक पार गरिरहेका छन् । यस विषयमा सरोकारवाला निकायको चासो बढ्न जरूरी छ । उदाहरणका लागि पुष्पलाल चोक र धम्बोझी चोकमा जेब्रा क्रसिङ भएको ठाउँका सडक पेटीमा रेलिङ (बार) लगाएको देख्न सकिन्छ । जसका कारण पैदल यात्रु सडक वारपार गर्दा झुक्किनु स्वभाविक हो । यस विषयमा सरोकारवाला निकायले सहज वातावरण निर्माण गर्नुपर्छ । उचित ठाउँमा जेब्रा क्रसिङको व्यवस्था नगरेका कारण बालबालिका, वृद्धवृद्धा, महिला, शारीरिक अशक्तहरु मारमा परेका छन् । चिन्ह् भएको ठाउँमा रेलिङ लगाइएपछि घुमेर जेब्रा क्रसिङमा जानु पर्ने अवस्थाको अन्त्य कहिले हुने हो यसै भन्न सक्ने अवस्था छैन । किनभने ट्राफिक नियमहरुको हेक्का कसैलाई छैन । जे गरे पनि हुन्छ भन्ने शैलीमा सडक पूरै मेरै भन्ने गरी हुने यात्रुहरुको ओहोर दोहोरले भविष्यमा अझै संकट निम्त्याउने देखिन्छ । त्यसैले सम्बन्धित निकाय ध्यान त्यसतर्फ जाओस् ।

  • २० माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech