प्रबिन हत्याका अभियुक्तहरु सार्वजनिक

असल शासन प्रतिनिधि

नेपालगन्ज–राष्ट्रिय अनुसन्धान विभाग, बाँकेमा कार्यरत एक प्रहरीको हत्या भएको तीन हप्ता पुग्नै लाग्दा बाँके प्रहरीले हत्याका अभियुक्तलाई सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले अभियुक्तलाई सार्वजनिक गरेको हो ।
सहायक सूचक (सिपाही) प्रबिन थापामगरको माघ २ गते हत्या भएको थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८, कारकाँदो निवासी २७ वर्षीय प्रबिन माघ ३ गते दिउँसो मृत फेला परेका थिए । नेपालगन्जको कारकाँदो लग्दहवास्थित मेरीगोल्ड स्कुलदेखि १०० मिटर पूर्वमा उनको शव फेला परेको थियो ।
व्यापक अनुसनधान पछि प्रहरीले ७ जनालाई विभिन्न मितिमा पक्राउ गरेको जनाएको छ । पक्राउ गरी सार्वजनिक गरिएकामा नेपालगन्ज १८ का २४ वर्षीय दिनेशकुमार कुर्मी (बर्मा), सुर्खेत गुर्भाकोट नगरपालिका वडा नम्बर १४ गुमी घर भई नेपालगन्ज १८ बस्ने १९ वर्षीय निश्चल गुरूङ, जाजरकोट जुनिचाँदे गाउँपालिका ७ दह घर भई नेपालगन्ज वडा नम्बर ४ बस्ने तेज मगर भनिने तेज बहादुर बिएम रहेका छन् । प्रहरीले सोही घटनासँग संलग्न नेपालगन्ज वडा नम्बर २,४, ५ र ६ निवासी ४ जनालाई सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
मृतक थापा मगरको टाउकाको पछाडि, निधारको बायाँ भाग, माथिल्लो ओठ, दुवै खुट्टाको घुँडा, नली, हात, शरीरको विभिन्न भागमा चिरपट दाउरा (पट्टा) प्रहार गरी विभत्स हत्या भएको घटनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले तालिम प्राप्त कुकुरको प्रयोग गरी केन्द्रीय अनुसन्धान ब्यरोको सहयोगमा सूक्ष्म र प्रभावकारी अनुसन्धानद्वारा घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले बताए ।
प्रहरीको अनुसन्धानबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कालिकामाई मन्दिर बगैँचा र घटनास्थल वरपरको क्षेत्र लागुऔषध सेवन तथा कारोबार गर्ने स्थानको रूपमा रहेको हँुदा मृतक सो क्षेत्रमा सूचना संकलनको लागि साथी कर्की भन्ने दिनेशकुमार कुर्मीसँग गएको, अभियुक्त सबै जना गाँजा खाने साथीहरु रहेको मृतक र कर्की भन्ने दिनेशकुमार कुर्मी समेत सोही बगियामा मोटरसाइकल रोकी सय मिटर टाढा नजिकैको बगियामा रहेको खुलेको छ । घटनास्थलमा कर्की भन्ने दिनेशकुमार कुर्मीले प्रयोग गर्ने १ जोर (फिस) चप्पल बरामद गरी प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
बगैँचामा जम्मा भई गाँजा सेवन गरी सकेपछि घरतिर जाने क्रममा अभियुक्तहरु ६ जनामध्ये विवेक परियारले मृतकको साथी कर्की भन्ने दिनेशकुमार कुर्मीको मोटरसाइकल, हेलमेट लगेको र सो हेलमेटबारे विवाद भएको अनुसन्धानबाट देखिएको छ ।
मृतक घटनास्थल पुग्ने वित्तिकै मृतक र अभियुक्तबीच हेलमेट माग्ने क्रममा विवाद भई अभियुक्तहरु निश्चल गुरुङ, तेज बहादुर विएम., विवेक परियार, सुमित विक, सुशान्त भण्डारी र सुवास थापाले मृतकलाई आफूहरुले हातमा लिएको चिरपट दाउराले टाउको, निधारको भाग, खुट्टाको घुँडा, नली, शरीरको भागमा सबै जनाले पटक–पटक प्रहार गरी मृतक भुइँमा ढलेपछि मृतकको शरीर चेकजाँच गरी साथमा रहेको मोबाइल भुन्टु भन्ने सुवास थापाले र अर्काे मोबाइल बांगे भन्ने सुमित विकले लिएको प्रहरीको अनुसनधानबाट खुलेको छ ।
मृतकका साथी कर्की भन्ने दिनेशकुमार कुर्मीले तत्काल मृतकलाई बचाउनेतर्फ कुनै प्रतिकार नगरेको, घटनापश्चात् भागेको र सो बारेमा मृतकका घरपरिवार तथा प्रहरी प्रशासनमा समेत जानकारी नगराएको प्रहरीको ठम्याइँ छ ।
प्रहरीले सुवास थापालाई माघ १३ गते नेपालगन्ज २ घरवारी टोलबाट मृतकको मोबाइलसाथ नियन्त्रणमा लिएको थियो भने घटनापश्चात् फरार रहेका विवेक परियारलाई माघ १५ गते भक्तपुरको चाँगुनारायण तथालीबाट, सुमित विक र सुशान्त भण्डारीलाई सोही दिन नेपालगन्ज बसपार्क नजिक समावेशी स्कुल नजिकबाट नियन्त्रणमा लिएको थियो ।
तेज मगर र निश्चल गुरूङ दाङ, सुर्खेत हँुदै धनगढी बसपार्क होटलमा लुकिछिपी बसेको अवस्थामा माघ १७ गते कैलालीबाट पक्राउ गरिएको थियो ।
मुलुकी अपराध संहित ऐन २०७४ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम अभियुक्तहरुलाई जन्म कैद हुने व्यवस्था कानुनमा रहेको छ । प्रबिन नेकपाका जिल्ला स्तरीय नेता डम्बर थापाको छोरा हुन् । युवा संघ बाँकेका पूर्व अध्यक्ष समेत रहेका थापाका उनी एक मात्र छोरा हुन् ।

 

  • २१ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech