सबैभन्दा सजिलो बिजनेश ‘भ्रष्टाचार’

‘प्रत्येक निकायका प्रमुखले भ्रष्टाचार नगर्ने हो भने त्यहाँका कर्मचारी तथा प्रतिनिधिको पनि भ्रष्टाचार गर्ने हिम्मत हुँदैन । घरमूली नै भ्रष्टाचारी छ भने त्यहाँ भ्रष्टाचार मौलाउँछ । त्यसैले भ्रष्टाचारको सर्कल तोड्न सही व्यक्ति सही ठाउँमा आउनु पर्छ ।’

असल शासन प्रतिनिधि

नेपालगन्ज– नेपालमा सबैभन्दा सजिलो र फष्टाउने बिजनेश भ्रष्टाचार बनेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले बताएका छन् । भ्रष्टाचारविरुद्ध लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख राणाले यस्तो बताएका हुन् ।
व्यवसाय, उद्योगलगायतका हरेक ठाउँमा सरकारको अवरोध र अनिर्णयको बन्दीका कारण देशको व्यापार व्यवसाय फष्टाउन नसकेको इङ्गित गर्दै राणाले भने,‘ भ्रष्टाचारीलाई सबै कुरामा माफ किन भइरहेको छ ?’ नीति निर्माण तहमा आसीन व्यक्तिले आफ्नो दायित्व निर्वाह गर्न नसक्दा प्राकृतिक रूपमा सम्पन्न देशका जनता भए पनि गरिब हुनु परेको बताउँदै राणाले भने,‘ सानो देश, थोरै जनसङ्ख्या प्राकृतिक रूपले सम्पन्न देश भए पनि भ्रष्टाचारका कारण हामी जहाँको त्यहीँ छौं ।’

देशमा भ्रष्टाचार मौलाउनुमा मुख्य कमजोरी हामी जनता पनि भएको भन्दै भ्रष्टाचारी चोर नै हो तर त्यो चोरलाई चोर भन्न सक्ने हिम्मत राख्नु पर्छ । तर त्यसको ठीक विपरीत हाम्रो देशमा जब ठूलो भ्रष्टाचारी जेलमुक्त हुन्छ तब हामी जनता नै २५ केजीको माला लिएर स्वागतका लागि जुलुस निकाल्छौं । यसले हाम्रो समाजमा के सन्देश जान्छ ? राणाले प्रश्न गरे ।
अन्य समयमा भ्रष्टाचार रोक्नु पर्‍यो भन्छौं तर जब रोक्ने समय आउँछ थोरै स्वार्थको लागि, थोरै पैसाको लागि हामीले भ्रष्टाचारीलाई प्रश्रय दिन्छौं । यो कस्को दोष हो ? जबसम्म नेपाली जनताको सोच बदलिँदैन तबसम्म भ्रष्टाचार निर्मुल हुँदैन राणाको भनाइ थियो ।
प्रत्येक निकायका प्रमुखले भ्रष्टाचार नगर्ने हो भने त्यहाँका कर्मचारी तथा प्रतिनिधिको पनि भ्रष्टाचार गर्ने हिम्मत हुँदैन । घरमूली नै भ्रष्टाचारी छ भने त्यहाँ भ्रष्टाचार मौलाउँछ । त्यसैले भ्रष्टाचारको सर्कल तोड्न सही व्यक्ति सही ठाउँमा आउनु पर्छ । भ्रष्टाचार भए तुरुन्त कारबाही हुनु पर्छ । र जनताले पनि बहिष्कार गर्नु पर्छ भन्दै राणाले भ्रष्टाचारविरुद्धको अभियान घरदैलोमा लगेर अहिलेका युवाले नै भ्रष्टाचार निर्मुल गर्न सक्ने भएकाले युवा जमातलाई भ्रष्टाचारविरुद्ध एकजुट हुन आह्वान गरे ।
बास लुम्बिनी प्रदेश समितिले बिहीबार नेपालगन्जमा आयोजना गरेको भ्रष्टाचारविरुद्ध लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलनमा १२ जिल्लाका युवाहरुको सहभागिता रहेको थियो ।

  • २२ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech