रुकुम–पूर्वमा हिमपात, कृषक उत्साहित, जनजीवन कष्टकर

कृषकहरु बाली सप्रने भन्दै खुसी भइरहँदा माथिल्लो भेगमा बासिन्दाको जीवन भने कष्टकर बन्दै गएको छ ।

सर्जना कार्की

रुकुम–रुकुम–पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । निकै लामो समयपछि यस वर्ष जिल्लामा पहिलोपटक हिमपात भएको हो । हिमपात भएपछि चिसो भने निकै बढेको छ । एकातिर लामो समयपछि परेको हिमपातले कृषकहरु उत्साहित भएका छन् भने अर्कोतिर चिसोले जनजीवन प्रभावित बन्न पुगेको छ ।

रुकुम–पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको अधिकांश क्षेत्रमा हिमपात भएको छ भने भूमे र सिस्ने गाउँपालकाको माथिल्लो भेगमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा वर्षा भएको छ । लामो समयसम्म पानी नपरेपछि आजीत भएका कृषकहरु हिमपातसँगै वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । बारीमा लगाएको गहुँ र तरकारी खेती सुकेर खेर जान्छ कि भन्ने पीरले बारबार पिरोल्दै आएको बताउदै सिस्ने गाउँपालिका वडा नम्बर २ की सुनिता पुनले लामो समयपछि परेको पानीले कृषकहरुमा उत्साह जागेको बताइन् ।

कृषकहरु बाली सप्रने भन्दै खुसी भइरहँदा माथिल्लो भेगमा बासिन्दाको जीवन भने कष्टकर बन्दै गएको छ । हिमपात भए पनि मानिसहरु घरभित्रै बसेका छन् भने पशुचौपायलाई पनि घर भित्रै थुनेर राखेको पुथगाउत्तरगंगा गाउँपालिका १ मैकोटका मिलन पुनमगरले बताए । हिमपातपश्चात् निकै बढेको चिसोले गर्दा नागरिकलाई दैनिक कामकाज गर्न समस्या भइरहेको छ भने पशुचौपायलाई पनि चरणक्षेत्रको समस्या भएको उनले बताए ।

यस्तै सडकमा बाक्लो हिउँ जमेपछि मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । रुकुमकोटबाट बागुलुङ हुँदै पोखरा, काठमान्डौ जाने सडक अबरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् । सडकमा हिउँ जमेपछि बिचबाटोमै गाडिहरु रोकिएको यात्राको क्रममा रुकुम–पूर्व र बागलुङ सिमाना पातीहाल्ना पुगेका थलराज बस्नेतले बताए । सडकमा एक फिटभन्दा बढी हिउँ जमेको उनले बताए । अहिले पनि जिल्लाको माथिल्लो भेगमा निरन्तर हिमपात भइरहेको छ ।

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech