१७ वर्षीया किशोरीको शव फेला, एसएसपीको नेतृत्वमा टोली परिचालन

भुबी बिष्ट

बैतडी– जिल्लास्थित दोगडाकेदार गाउँपालिकास्थित जंगलमा एक किशोरीको शव फेला परेको छ । सोही गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको शव बिहीबार जंगलमा भेटिएको हो । भट्टको हत्या भएको भन्दै हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । आम सर्वसाधारण, विद्यार्थी, राजनीतिक दलका भातृसंगठने घटनास्थलमै विरोध प्रदर्शन गरेका हुन् ।

पत्रकार मोहन चन्दका अनुसार हत्यारालाई छिटो भन्दा छिटो पक्राउ गरी हदैसम्मको कारबाहीको माग गर्दै विरोध प्रदर्शनसहित १२ बजेदेखि ४ बजेसम्मको लागि महाकाली राजमार्ग अन्तर्गतको खोचलेक बजार बन्द गरिएको थियो । घटनास्थलमा मृतक भट्टको मोबाइल भेटिएको पनि बताइएको छ ।

यसैबीच हत्याको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली परिचालन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले एसएसपीको नेतृत्वमा अनुसन्धानमा सघाउन छुट्टै प्राविधिक टोली आउन लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । उनका अनुसार अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी)को टोली पनि आउन लागेको छ ।

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech