पूर्व केन्द्रीय सदस्य शाहको जन्म दिनमा सामाजिक कार्य

रुक्मिणी स्मृति अक्षय कोषबाट सहयोग हस्तान्तरण

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासकी पूर्व केन्द्रीय सदस्य रुक्मिणी शाहको जन्मदिनमा एकजना विपन्न महिलालाई सहयोग  गरिएको छ ।

बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट बाँकेको कोहलपुर निवासी सावित्री महरलाई जन्मदिनको दिनमा सहयोग स्वरुप आयोजित कार्यक्रममा १० हजारको चेक हस्तान्तरण गरिएको हो ।

बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निवर्तमान अध्यक्ष मन भण्डारी, केन्द्रीय महासचिव शिवकुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, असल शासन मिडिया प्रालिका प्रबन्ध निर्देशक किरण कार्कीलगायतले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।

कोहलपुर–१२ निवासी सावित्री आर्थिक अवस्था कमजोर भएकी महिला हुन् । श्रीमानको निधनपछि उनी एकल रुपमा जीवनयापन गरिरहेकी छिन् । १ छोरा र २ छोरीकी आमा सावित्री घरखर्चको जोहो गर्न अरुको घरमा काम गर्ने, मजदुरी गर्नेलगायतको काम गर्दै आएकी छन् । कमजोर आर्थिक अवस्थाको कारण छोरा र छोरी पढ्नबाट वञ्चित भएका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण ५ कक्षामा पढ्ने छोराले पढाइ छोड्नु परेको उनको भनाइ छ ।

यसैगरी  यसैगरी शाहको सम्झनामा सामाजिक विकास तथा प्रवर्द्धन केन्द्रलाई १०० किलो र भेरी अस्पताल नेपालगन्ज भित्र २० रुपैयाँमा खाना खुवाउँदै आएको संस्था अञ्जनी माता रसोइलाई १ सय ५० किलो नुन सहयोग गरिएको छ ।

अनाथ बालबालिकाको पालन पोषण र पठन पाठनको जिम्मेवारीबहन गर्दै आएको संस्था सामाजिक विकास तथा प्रवर्द्धन केन्दका अध्यक्ष मिन अर्याललाई बासको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो भने अञ्जनी माता रसोइलाई  भेरी अस्पताल परिसरमैं हस्तान्तरण गरिएको हो । उक्त सहयोग रसोइका सदस्य राज करणले ग्रहण गरेका थिए ।


कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा दिवंगत रुक्मिणीका दाजु नमस्कार शाहले दिवंगत शाहको बारेमा बोल्दै उनको सम्झनामा विभिन्न सामाजिक कार्य गरिरहेको बताए ।

बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा बासका पदाधिकारी, सदस्य, कर्मचारी तथा स्वयम् सेवकहरुको सहभागिता थियो । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने शाहको तस्बिरमा अबिर, पुष्प अर्पण गरिएको थियो ।

शाहको सम्झनामा स्थापित अक्षय कोषबाट अशक्त, अपाङ्गता भएका व्यक्ति, आर्थिक अभाव भएका बालबालिका,  ज्येष्ठ नागरिक, हिंसामा परेका महिलालाई विभिन्न सहयोग प्रदान गरिँदै आएको छ । शाहको सम्मानमा बासले १ लाख ११ हजार रुपैयाँको रुक्मिणी स्मृति अक्षय कोष स्थापना गरेको छ ।

स्मरण रहोस् २०६५ वैशाख २७ गते खासकारकाँदौमा बास पूर्व केन्द्रीय सदस्य रुक्मिणी शाहका पतिलगायतले उनको दिउँसै हत्या गरेका थिए । पुनरावेदन अदालतले अभियुक्तलाई सर्वश्वसहित जेल सजायको फैसला गरिसकेको छ ।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech