पूर्ण खोप सुनिश्चितता पालिका बन्यो राप्तीसोनारी, अझै दुई पालिका बाँकी

असल शासन प्रतिनिधि

अगैया– राप्तीसोनारी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको छ । सोमबार एक कार्यक्रमकाबीच गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक औपचारिक समारोहका बीच पूर्ण खोप गाउँपालिका भएको घोषणा गरेका हुन् । योसँगै बाँकेमा नरैनापुर र बैजनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका बन्न बाँकी रहेका छन् ।

आर्थिक वर्ष ०७७/०७८ सम्म ७५ हजार ७ सय २३ जनसंख्या रहेको पालिकामा रहेका १६ देखि २३ महिनाका ९३७ शिशुमा छुटेका ८१ जना शिशुलाई  राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी खोप लगाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु चुडालीले बताए ।

जिल्ला समन्वय समितिका संयोजक तथा पूर्ण खोप समन्वय समितिका अध्यक्षसमेत रहेका अजयकुमार श्रीवास्तवले बाँकेलाई फागुनसम्म पूर्ण खोप जिल्ला घोषणा गरिने बताए । यस अघि नै ५ वटा पालिका पूर्ण खोप सुनिश्चितता पालिका बनिसकेकाले बाँकी रहेका तीन पालिकामा राप्तीसोनारी गाउँपालिका पहिलो भएको उनले बताए । कुनै पनि पालिका पूर्ण खोप सुनिश्चितता बन्नुमा स्वास्थ्य स्वयम् सेविकाको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुको मनोबल र आर्थिक उन्नति हुने तवरले पारिश्रमिकको व्यवस्था गाउँपालिकाले गर्नु पर्नेमा श्रीवास्तवले जोड दिए ।

गाउँपालिका अध्यक्ष लाहुराम थारुले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर गाउँपालिका अघि बढेको बताए । उनले महिला स्वास्थ्य स्वयम् सेविकाको लागि मात्र आर्थिक वर्षमा १३ लाख २० हजार रुपैयाँ छुट्याएको बताए । प्रत्येक महिना १ हजार रुपैयाँ पारिश्रमिक वृद्धि हुने गरी स्वास्थ्य स्वयम् सेविकालाई प्रोत्साहन गरेको बताउँदै अध्यक्ष थारुले उनीहरुका लागि साइकल किन्ने रकम पनि गाउँपालिकाले उपलब्ध गराएको बताउँदै भने,‘ एउटा व्यक्ति गाउँपालिका अध्यक्षदेखि राष्ट्रप्रमुख पनि बन्न सक्छ । तर स्वास्थ्य अवस्था राम्रो भएन भने भोलि देशलाई सही दिशातर्फ डोर्‍याउने व्यक्ति नै रहँदैन त्यसैले पालिकाले स्वास्थ्य क्षेत्रमा गम्भीरतासाथ काम गरिरहेको छ ।’

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले राष्ट्रले पूर्ण खोप लगाउनका निम्ति प्रति १५ देखि २३ महिनाका प्रति शिशुलाई ३० हजार तीन सय रुपैयाँ खर्च गरिरहेको बताए । त्यसमध्ये राप्तीसोनारी गाउँपालिकामा मात्र ४ करोड ६१ लाख रुपैयाँ वार्षिक खर्च भइरहेको जानकारी दिँदै प्रमुख शाहले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा सधैँका लागि नभएर यस वर्षका लागि मात्र भएको बताए । राज्यबाट भइरहेको लगानीलाई सदुपयोग गर्दै आगामी वर्षमा पनि पूर्ण खोप सुनिश्चिततालाई कायम राख्नु पर्ने उनले सुझाए ।

प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले स्वागत मन्तव्य राखेको कार्यक्रममा , जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, डब्लुएचओका डा.पवन उपाध्याय, राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओलीलगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ, जिल्ला प्रहरी प्रमुख(एसपी) ओमबहादुर राना, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी प्रमुख, विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो ।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech