६ मोटरसाइकलसहित चोरीमा संलग्न गिरोह पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज– पछिल्लो समय बाँकेका विभिन्न स्थानबाट गायब भएका मोटरसाइकल चोर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । २०७७।१०।०५ गते नेपालगन्ज उपमहानगरपालिका १८ स्थित क्लाउड– नाइन रेष्ट्रो एण्ड डान्स बारको पार्किङ स्थानबाट नेपालगन्ज–२० बस्ने प्रतीक गुरूङको चोरी भएको भे१०प३५०६ नम्बरको २०० सिसी एनएस मोटरसाइकल प्युठान जिल्लामा बिक्री भएको सूचना पाएपछि प्र.स.नि. विवेक अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

पक्राउ पर्नेमा खजुरा गाउँपालिका वडा नम्बर ३ बस्ने ३५ वर्षीय रामबहादुर थापा, जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ११ कालीखोलीका हाल नेपालगन्ज उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय धिरेन्द्र विक्रम शाही,  दाङ गढवा गाउँपालिका–४ का २८ वर्षीय समिर भन्ने ईरसाद अहमद मुसलमान , रोल्पा लुग्री गाउँपालिका–१ पाङका २४ वर्षीय छविलाल पुन मगर , रोल्पा लुग्री गाउँपालिका ५ गुम्चाल का २४ वर्षीय नवराज रोका क्षेत्री र नेपालगन्ज–१० सुगन्धटोलका २८ वर्षीय रंजित शर्मा रहेका छन् ।

पक्राउ परेकाबाट १.लु.३९.प.२८६६,  २.रा.४.प. ४५५०, ३.रा.५.प.६२३३, ४.लु.४५.प.८९२८,  ५.रा.५.प.३२३ र  ६.बा.३६.प.५९४  नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकालाई मुलुकी अपराध संहित ऐन २०७४ को चोरी सम्बन्धी कसुरको दफा २४२ को उपदफा २ बमोजिम ३ वर्ष सम्म कैद र ३०,०००।– सम्म जरिवाना हुने बताइएको छ ।

पछिल्लो समयमा बाँके जिल्लाको विभिन्न स्थान यातायात कार्यालय अगाडि, मालपोत कार्यालय अगाडि, भेरी अस्पताल अगाडि, नर्सिङ होम अगाडिलगायतका क्षेत्रबाट मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरी गर्ने व्यक्तिको पहिचान एवम् पक्राउ गर्ने विशेष टोली परिचालन गरी प्युठानमा चोरीका मोटरसाइकल बिक्री भएको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

  • २८ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech