‘हतारमा समाचार सम्प्रेषण नगरौं’

असल शासन प्रतिनिधि

नेपालगन्ज– २१ औं शताब्दी, सूचना तथा प्रविधिको अनेकन् माध्यमको विकास भएको युग । फेसबुक, युट्युब, इन्ट्राग्रामलगायतका सामाजिक सञ्जालमार्फत् जोसुकैले पनि समाचार सम्प्रेषण गर्ने लहड चलेका बेला व्यवसायिक रुपमा सञ्चालित सञ्चार माध्यमले समाचार ब्रेकिङ गर्ने धुनमा गलत एवम् अशुद्ध समाचार सम्प्रेषण नगर्न आग्रह गरिएको छ । वरिष्ठ पत्रकारद्वय हेमन्त कर्माचार्य र पूर्णलाल चुकेले बुधबार असल शासन मिडिया हाउसको उद्घाटन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

सामाजिक सञ्जालमा सबैको सहज पहुँच हुँदा सत्य र तथ्य समाचार पस्कने सञ्चार माध्यमलाई चुनौती दिने तवरले आफू पायक समाचार आइरहेकाले त्यसलाई ध्यानमा राखेर मिडिया हाउसले दिने समाचारमा सत्य, तथ्य एवम् भाषागत शुद्धता हुनु पर्नेमा वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले जोड दिए । विगतमा बाँकेबाट सञ्चालनमा आएका धेरै मिडिया हाउस पत्रकार र व्यवस्थापकको आपसी सम्झदारी नमिल्दा धरासायी भएको बताउँदै कर्माचार्यले औपचारिक रुपमा सञ्चालनमा आएको मिडियाका व्यवस्थापक र पत्रकारको सम्बन्ध सुमधुर गर्दै अघि बढ्नु पर्ने बताए ।

विगत दुई दशकदेखि भ्रष्टाचारविरुद्ध प्रकासन हुँदै आएको असल शासन पत्रिकासँगै असल शासन डट कम व्यवसायिक रुपमा अघि बढेकोमा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले खुसी व्यक्त गरे । चुकेले भने,‘विश्वासिलो एवम् भरपर्दो समाचार सम्प्रेषण गर्नु पर्छ । जसरी बासले आफूलाई भ्रष्टाचारविरुद्धको अभियानमा खरो उभ्याएको छ त्यसरी नै असल शासन मिडियाले पनि आफ्नो अलग पहिचान बनाउनु पर्छ ।‘ बासले समाजिक विसङ्गति, कुरीति, समाजमा हुने भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै देशमा चाहिने असल शासनलाई जसरी वकालत गरेको छ त्यसरी नै असल शासन मिडियाले पनि देशमा हुने असामाजिक कार्यविरुद्ध खबरदारी गरेर नागरिकलाई जनचेतना जगाउनेलगायतका कार्यमा अग्रगामी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको चुकेले बताए ।

उद्घाटन कार्यक्रममा असल शासन मिडियाका अध्यक्ष नमस्कार शाहले असल शासनको विगतदेखि वर्तमानसम्मको यात्राबारे जानकारी दिएका थिए । कार्यक्रममा मिडियाका प्रबन्ध निर्देशक किरण कार्कीलगायतको उपस्थिति रहेको थियो ।

  • २८ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech