बिहेमा खुकुरी प्रहार ! एक गम्भीर घाइते

असल शासन प्रतिनिधि

कोहलपुर / बिहेमा केटा र केटीपक्षका युवाबीच झडप हुँदा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट बाँकेको बैजनाथ गाउँपालिका–५ बनकटुवका गोविन्द थारु गम्भीर घाइते भएका हुन् ।
बुधबार राति जन्तीमा आएका युवाले स्थानीय युवतीसँग जबरजस्ती नृत्य गर्ने क्रममा विवाद बढ्दै गएपछि उक्त झडप भएको स्थानीयले बताएका छन् । झडपमा थारुसहित अन्य ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय वनकटुवाका प्रहरी नायब निरीक्षक राजकुमार सिंहले बताए । निरीक्षक सिंहका अनुसार झडपमा सामान्य घाइते भएकाले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराएर घर फर्की सकेका छन् भने गम्भीर थारुको उपचार भइरहेको छ ।
बिहेमा झडप भएको केही समयपछि प्रहरी त्यहाँ पुगेर झडपलाई साम्य पारेको थियो । यसरी बिहेमै केटा र केटी पक्षका युवाबीच भएको झडपलाई एकआपसमा मिलेर सुल्झाइ शुक्रबार छलफल गर्ने सहमति भएको स्थानीयले बताएका छन् ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech