‘विपद् तथा महामारीमा रेडियोको भूमिका महत्वपूर्ण’

साबित्री गिरी

नेपालगन्ज–विपद् तथा महामारीमा रेडियोले खेलेको भूमिका विषयमा चर्चा गर्दै रेडियोको सम्भावना र आर्थिक अवस्था सुधारको उपायबारे छलफल गरिएको छ । १० औं विश्व रेडियो दिवसको सन्दर्भमा सामुदायिक रेडियो प्रसारक संघ नेपाल जिल्ला कार्यसमिति बाँकेको आयोजना तथा सामुदायिक रेडियो प्रसारक संघ नेपाल लुम्बिनी प्रदेशको सहकार्यमा भएको छलफलमा दुःख सुखको साथी रेडियो भएको भन्दै सोबारे छलफल गरिएको थियो ।


कार्यक्रममा बाढीपहिरो, हिमपात, भूकम्प, शीतलहर, आगलागी तथा कोरोना जस्ता महामारीमा रेडियोले सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेलेको विषयमा सहभागीले चर्चा गरेका थिए । कार्यक्रमका सहभागीले सामुदायिक रेडियोको विकास तथा विस्तारका लागि स्थानीय तहले नीति बनाउनु पर्ने बताए । उनीहरुले सामुदायिक रेडियोका प्रतिनिधि र स्थानीय तहबीचको समन्वय र सहकार्यमा मात्र नीति बनाउनु पर्ने कुरामा जोड दिए । नीति बनाउने सवालमा सरकारको मात्र एक्लो उपस्थिति भए प्रभावकारी नहुने भन्दै सबै रेडियोको समान विकासमा जोड दिनु पर्ने कुरा सहभागीले औँल्याएका थिए ।
सामुदायिक रेडियो प्रसारक संघ नेपाल लुम्बिनी प्रदेशका संयोजक केपी घिमिरेको अध्यक्षतामा भएको छलफलमा बोल्दै उनले रेडियोको दिगोपनाको लागि चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार सनतकुमार रेग्मीले रेडियोको समग्र विकासका लागि सबैको हातमालो जरूरी रहेको बताए । उनले रेडियो सैबैको सारथि भएको बताउँदै रेडियोसँग जोडिएका रोचक विषयको पनि चर्चा गरे । श्रोताको माग र चाहना अनुसारका कार्यक्रम उत्पादन गरी प्रसारण गर्नु पर्ने कुरामा जोड दिँदै यसका लागि आवश्यक वातावरणको अभाव रहेको बताए । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष अर्जुन गिरीले नया“ परिवेश अनुसार रेडियोलाई रूपान्तरण गर्नुको विकल्प नरहेको बताए ।


कार्यक्रममा नेपालगन्ज उपमहानरपालिकाका उपप्रमुख उमा थापा मगरले मिडिया नीति बनाएर सबै मिडियाको आर्थिक अवस्था सबल बनाउने योजनामा रहेको बताइन् । यस्तै कार्यक्रममा बोल्दै बाँके राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले सञ्चार संस्था र स्थानीय तह बीचको प्रभावकारी समन्वय हुनु पर्ने कुरामा जोड दिइन् ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रीय उपाध्यक्ष भुवन सिंह सुनार, सामुदायिक रेडियो प्रसारक संघ नेपाल प्रदेश कमिटी सदस्य चेतकान्त भट्टराई, ईन्द्रकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव पोषण केसी, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहलगायतले बोलेका थिए ।
‘नयाँ विश्वः नयाँ रेडियो’ नारा साथ शनिबार (भोलि) विश्व रेडियो दिवस मनाइँदै छ ।

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech