चार हजार सापटी फिर्ता नगर्दा हत्या

असल शासन प्रतिनिधि

रुकुम पश्चिम / दुई वर्ष पहिला लिएको सापटी रकम फिर्ता नगरेको झोकमा टाउकोमा ढुंगा प्रहार गरेर एकजना महिलाको हत्या गरिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ की ५३ वर्षीया देवीकला घर्तीको हत्या भएको हो ।

माघ २६ गते बेपत्ता भएकी घर्ती माघ २८ गते मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले शुक्रबार घटनाबारे जानकारी गराउँदै हत्यामा संलग्न भएको आशंकामा स्थानीय २३ वर्षीय दिपेन्द्र पुनलाई पक्राउ गरेको उल्लेख गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा २ वर्ष अगाडि सापटी दिएको ४ हजार रुपैयाँ फिर्ता माग्दा नदिएको झोकमा पुनले घर्तीको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टाउकोमा ढुंगाले हानेर घिसार्दै जंगलमा लिएर फालेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले जानकारी दिए ।

२६ गते दिउँसो १ बजे किनमेलका लागि स्थानीय नाउला भन्ने स्थानमा गएको र त्यो दिन साँझसम्म घर नआई बेपत्ता भएपछि स्थानीयले खोजतलास गर्दा माघ २८ गते बेलुकी ५ बजेतिर स्थानीय टाकुरा गाउँको पाखो जंगलमा मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी पीडित पक्षबाट हिजो कर्तव्य ज्यान शीर्षकको किटानी जाहेरी लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech