विद्युतको पोलमा ‘अम्बे’को मनपरी

राजस्व उठाउने जिम्मा स्थानीय तहको भएता पनि सहर नै कुरूप बनाउने गरी भएको यो कार्यप्रति ध्यान दृष्टि नपुग्नु दुःखद् हो ।

असल शासन प्रतिनिधि

नेपालगन्ज– बाँकेको चार लेन सडक खण्डको दायाँ बायाँ बिद्युत पोलमा एउटा प्राइभेट कम्पनीले मनपरी विज्ञापन राखेको छ । विगत लामो समयदेखि नेपालको ठूलो भनिएको अम्बे स्टिल्स नामक कम्पनीले सम्बन्धित निकायको अनुमति बेगर बिद्युत पोलमा मनोमानी तवरले कम्पनीको विज्ञापन राख्दै आएको हो ।
विद्युत पोलमा विज्ञापन छाप्नु अथवा झुन्ड्याउनु अघि विद्युत प्राधिकरणसँग अनुमति लिनु पर्ने भए पनि अनुमति बेगर नेपालगन्जका प्रत्येक बिद्युत पोलमा अम्बे स्टिलको विभिन्न रङले पोतेको विज्ञापन देखिन्छ । कुनै पनि पोल नछुट्टाई सडक नै कुरूप हुने गरी पोल–पोलमा मनपरी विज्ञापन गर्दासमेत सरोकारवाला निकाय भने मौन छन् । नेपालका प्रतिष्ठित कम्पनीबाट नै नियमको उल्लङ्घन गरी मनोमानी तवरले विज्ञापन राख्न थालेपछि अन्य व्यवसायिक प्रतिष्ठानले समेत आफ्नो व्यवसायिक विज्ञापन सार्वजनिक स्थानमा राख्ने होडबाजी नै चलेको देखिन्छ ।


बिद्युत पोलमा गरिएको अनाधिकृत विज्ञापनका विषयमा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख लखनलाल मल्लिकले पोल–पोलमा अम्बे स्टिलले मनपरी विज्ञापन पोतेको दृश्यले गम्भीर बनाएको बताए । सो बारेमा आफूलाई जानकारी भए पनि अहिलेसम्म अनाधिकृत बिज्ञापन राख्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउन कुनै पहल नथालेको उनले स्वीकार गरे । उनका अनुसार यो अनधिकृत कार्य हो ।
अम्बे स्टिलको विद्युत पोलमा गरेको मनपरी विज्ञापन रोक्न पहल सुरु गर्ने बताए पनि अहिलेसम्म कुनै पनि प्रयास सुरु भएको देखिँदैन । यो कार्य अम्बे स्टिलले मात्र होइन कसैले पनि बिना अनुमति बिद्युत पोलमा विज्ञापन गर्न पाउँदैनन् । तर यो मनोमानीले अन्य व्यापारीबीच प्रतिस्पर्धा बढाउँदा एउटै पोलमा अन्य विज्ञापनहरू पनि झुण्डिएका छन् । विज्ञापन गर्ने सजिलो माध्यम बिद्युत पोललाई बनाउँदा बजार क्षेत्रका अधिकांश बिद्युत पोल भरीभराउ भएका छन् । प्राप्त तथ्याङ्क अनुसार यो क्षेत्रमा बिद्युतका ५ सय १ पोल छन् । जसमा अधिकांश पोलमा विज्ञापन पोतिएको नेपालगन्ज उपममहानगरपालिकाका राजस्व शाखा प्रमुख वीरवहादुर थापाले बताए । पोल पोतिएको तथ्याङ्क संकलन गरेको नेपालगन्ज उपमहानगरपालिकाले पनि यस विषयमा सरोकारवालाको ध्यानाकर्षण भने गराएको छैन । राजस्व उठाउने जिम्मा स्थानीय तहको भएता पनि सहर नै कुरूप बनाउने गरी भएको यो कार्यप्रति ध्यान दृष्टि नपुग्नु दुःखद् हो । यसबाट राम्रो राजस्व प्राप्त हुने भएता पनि नेपालगन्ज उपमहानगरपालिकाले यस विषयमा ठोस योजना बनाउन नसकेको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर धवल शमशेर राणाले बताए । उनका अनुसार अन्य व्यावसायीले गरेको विज्ञापनको राजस्व उठाउने विषयमा छलफल भएता पनि कार्य अगाडि बढ्न सकेको छैन ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका मात्र होइन स्थानीय तहका विभिन्न स्थानमा अम्बे स्टिलले विज्ञापन राख्दै आएको छ । नियम मिचेर गरिने विज्ञापनविरुद्ध सरोकारवालाले बेलैमा पहल थाल्न जरूरी छ ।

 

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech