रिपोर्ट परिवर्तनका लागि धम्की, बैंक ब्यालेन्स बढाइदिने प्रलोभन

भेरी अस्पतालका कर्मचारी र चिकित्सलाई आउने धम्की र अफरले काम गर्न असहज

साबित्री गिरी

नेपालगन्ज/भेरी अस्पतालका कर्मचारी र चिकित्सलाई आउने धम्की र अफरले काम गर्न असहज भएको छ । अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रमा न्याय चाहियो भन्दै आउने सेवाग्राहीहरुले नै धम्की र अफर दिँदा कर्मचारीलाई काम गर्न असहज भएको हो ।

सेवाप्रवाहकै क्रममा अस्पतालको रिपोर्ट परिवर्तन गर्न चुनौती दिने गरेको केन्द्रले जनाएको छ । लैङ्गिक हिंसाका पीडितलाई कानुनी सहायता सँगसँगै उपचारका क्रममा पीडक पक्षबाट धम्की आउँदा प्रभावकारी सेवामा समस्या हुने गरेको छ । यतिमात्र नभई कर्मचारीको बैंक ब्यालेन्ससमेत बढाई दिने प्रलोभन आउने गरेको केन्द्र्रमा कार्यरत कर्मचारीले बताएका छन् ।

यौनजन्य दुव्र्यवहारका घटनाका पीडितले पनि अरुका कुरा सुनेर बयान फेर्ने गरेका छन् । कुनै पनि लैङ्गिक हिंसाका घटना भएपछि भेरी अस्तालमा उपचार सँगसँगै प्रहरी कार्यालयले सुरक्षा प्रदान गर्ने गर्छ । कुनै पीडितलाई लामो समयसम्म व्यवस्थापनको खाँचो भए संघसंस्थासँग अस्पतालले समन्वय गर्ने गर्छ । अस्पतालले सबै सेवाहरु निशुल्क प्रदान गर्दै आएको छ ।

अस्पतालमा झै —झगडा, कुटपिट, यातना र जबरजस्ती करणीका बिरामीले निशुल्क उपचार लिइरहेका छन् । २०७५ सालदेखि अहिलेसम्मको तथ्याङ्क हेर्दा ४ सय ८९ वटा उजुरी आएका छन् । यसमा ३ सय २८ वटा जबरजस्ती करणीका उजुरी परेका छन् । बढिरहेका घटनामा निष्पक्ष उपचार सेवा प्रवाह भएजस्तै कानुनी उपचारमा पनि सहयोग गर्न नपाएको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रको गुनासो रहेको छ । हिजोका दिनमा यौनजन्य घटनाका पीडितले अस्पतालको रिपोर्ट ढिला आउँदा न्याय पाउन नसकेपछि यो व्यवस्थापन गरिएको छ । यो व्यवस्थापनपछि पीडितले रिपोर्टका आधारमा पाउने न्याय सहजै पाएको अस्पतालले जनाएको छ ।

  • २ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech