संस्कारी र सदाचारी भए सबै चिज स्वच्छ हुन्छः महानिर्देशक उपेन्द्र राय

असल शासन प्रतिनिधि

नेपालगन्ज/ हरेक मानिस संस्कारी एवम् सदाचारी भए सबै चिज स्वच्छ हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका महानिर्देशक उपेन्द्र रायले बताएका छन् । खाद्य पदार्थमा स्वच्छताका लागि मंगलबार नेपालगन्जमा गरिएको बृहत् अन्तक्रियाका अवसरमा उनले सो कुरा बताएका हुन् ।

खाद्य पदार्थ परीक्षण, विषादी परीक्षण र राजस्व चुहावटका कुरामा प्रत्येक व्यक्ति स्वच्छ हुनु पर्ने बताउँदै महानिर्देशक रायले यो भएन त्यो भएन भनेर सरकारलाई मात्र दोष लगाउनु भन्दा पहिले हामी स्वच्छ हुनु पर्ने बताउँदै उनले भने,‘ सबै नागरिक संस्कारी र सदाचारी भए मात्र प्रभावकारी रूपमा हरेक क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ ।’

भन्सार चुहावटको खबर पाएपछि जानकारी गराउन आग्रह गरिए पनि अहिलेसम्म भन्सार चुहावटको खबर नागरिक स्तरबाट प्राप्त नभएको भन्दै रायले भन्सार नीति कडा भएका कारण यस क्षेत्रले सबै भन्दा बढी राजस्व संकलन गरेको दाबी गरे ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एसपीएस नेशनल इन्क्वायरी प्वाइन्ट काठमाडौंकोे आयोजनामा गरिएको कार्यक्रममा बोल्ने सहभागीले खाद्यमा स्वच्छता ल्याउनका लागि चेक जाँचलाई कडाइ गर्नुपर्ने बताएका थिए । यसका लागि आम नागरिक ,व्यावसायी, उद्योगी, भन्सारका कर्मचारी तथा सरोकारवालाले गम्भीरता देखाउनुपर्नेमा जोड दिएका थिए ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जय बहादुर भण्डारीले राजस्व लक्ष्य भन्दा धेरै संकलन गर्न सफल भएता पनि स्वच्छताको विषयमा सबैलाई बुझाउन नसकिएको बताए । खाद्य पदार्थ परीक्षण, प्लान्ट क्वारेन्टाइन, पशु क्वारेन्टाइन र विषादी परीक्षण गरिएका बस्तुमात्र नेपालमा आयात र निर्यात गर्ने गरेको उनले जानकारी दिए ।

कार्यक्रममा सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यवसायी, कानुन व्यवसायी, संघ संस्थाका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योगी व्यवसायीका तर्फबाट बोल्दै नेपालगन्जका उद्योगी दिला शाहले खाद्य स्वच्छताका लागि सरकारले बनाएको योजनामा एक्यबद्धता जनाइन् । उनले यस्ता कार्यक्रम सबै व्यापारी तथा उद्योगी माझ लैजानु पर्नेमा जोड दिइन् ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech