बाँकेमा बलात्कारीलाई खबरदारी गर्दै सरकारलाई प्रश्न–किन मौन ?

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जको बीपी चोकमा बलात्कारका हत्यारालाई कारबाही गर्नु पर्ने विषयमा खबरदारी गरिएको छ । निष्पक्ष रूपमा बलात्कारका घटनामा सरकारले छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै मंगलबार बेलुका विरोध प्रदर्शन गरिएको हो ।

२०७५ साल साउन ११ गते कञ्चनपुरका निर्मला पन्तको हत्यारा र गत माघ २१ गते बैतडीकी भागिरथी भट्टका हत्यारा सार्वजनिक गर्नुपर्ने विषयमा आम नागरिक समाज, अधिकारकर्मी, पत्रकार, कानुन व्यावसायी तथा युवाहरुले एक्यबद्धता जनाएका छन् । गैर सरकारी संस्था महासंघ बाँकेको आयोजना तथा बासको संयोजनमा गरिएको विरोध प्रदर्शनमा सडक नाटकसमेत प्रदर्शन गरिएको थियो ।

नाटकमा बासमा कार्यरत रविन्द्र बोहोरा, शोभा थापा मगर, तपेन्द्र मलाती र लोक बहादुर घर्तीले प्रस्तुति दिएका थिए । नाटकमा बलात्कारी समाजमा खुलेआम हिँडेता पनि कानुनी दायरामा ल्याउन नसकिएको तीतो यथार्थलाई चित्रण गरिएको थियो ।

विरोध सभालाई गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, उपाध्यक्ष चन्द्रप्रकास तिमिल्सेना, सचिव आशिष बर्मा, सदस्य शंकरप्रसाद न्यौपाने, नेपालगन्जका हरित अभियन्ता हेमन्तराज काफ्ले, बासका महासचिव शिवकुमार बर्मा, अधिकारकर्मी रुबी खान, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका इकाई समितिका पूर्व सभापति तथा बासका सल्लाहकार रुद्रप्रसाद तिमिल्सेना, साहित्यकार दिला शाह, बाल अधिकारकर्मी साहिल अन्सारीलगायतले सम्बोधन गरेका थिए ।

सभाका वक्ताले बलात्कारका हत्यारालाई कारबाही नगरेर सरकार मौन बसेकोमा दुःख व्यक्त गर्दै बलात्कारीलाई फाँसीको सजाय दिनुपर्नेमा जोड दिएका छन् । साथै बलात्कारविरुद्धको कानुनको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने बताउँदै राजनीतिकका नाममा अपराधीलाई छुट दिँदा बलात्कारका घटना बढी रहेको टिप्पणी गरेका थिए । विरोध कार्यक्रममा बालबालिकाको सुरक्षा गर, बलात्कारी खबरदार, निष्पक्ष न्याय प्रदान गरलगायतका पर्चा पम्पेट र ब्यानर प्रदर्शन गरेका थिए ।

 

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech