‘प्रतिशोध साँध्न भागरथीको बलात्कारपछि हत्या’

भागरथीका दाइले दिए हत्या आरोपीविरुद्ध जाहेरी

असल शासन प्रतिनिधि

कैलाली/गत माघ २१ गते बुधबार दिउँसो हत्या भएको अवस्थामा फेला परेकी १७ वर्षीया भगीरथी भट्टको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । बैतडीको दोगडाकेदार- ७ चडेपानिकी भागरथी भट्टको हत्यामा संलग्न सनातन धर्म माविमा कक्षा ११ मा अध्ययनरत किशोर दिनेश भट्टलाई पक्राउ गरेको हो । भागरथीको बलात्कार पछि गरिएको हत्या पारिवारिक प्रतिशोधको परिणाम रहेको बताइएको छ।

प्रहरीले धेरै कुरा नखोले पनि भागरथीका बुवासँग लिन बाँकी रहेको प्रतिशोधलाई अभियुक्तका रुपमा पक्राउ गरिएका दिनेश भट्टले बदला लिएको बयान दिएको बताइन्छ । पक्राउ परेका भट्टले भने आफैले भागरथीलाई भीरबाट लडाएर घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्। पक्राउ परेका दिनेशले आफ्नी फुपूलाई विगतमा भागरथीको परिवारले दुव्‍र्य गरेकोले उनको हत्या गरेको बयान दिएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेशकुमार सिंहले भने आफूले अरोपितको बयान भन्दा पनि प्रहरीलाई प्राप्त प्रमाणका आधारमा पक्राउ गरेको बताएका छन् । ‘घटनाको सूक्ष्म ढंगबाट अनुसन्धान गरिएको हो, अझै थप अनुसन्धान जारी नै रहन्छ,’ उनले भने, ‘शंकाको घेरामा रहेका अरुसँग पनि प्रमाण जुटाउने काम नगरेको भन्ने होइन्। घटनामा दोषी उम्किने र निर्दोष फस्ने काम कुनै पनि हालतमा हुने छैन । यसमा ढुक्क रहन आग्रह गर्दछु।’

ती युवक भागरथीको छिमेकीसमेत हुन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। प्रहरीले शंकाको घेरामा राखेको ती युवक भागरथीको बलात्कार तथा हत्या आरोपी पक्राउ गर्न गरिएको प्रदर्शनमा समेत सहभागी हुँदै आएका थिए। प्रहरी स्रोतका अनुसार भट्टको हत्यापछि प्रहरीले दिनेशलाई सोधपुछ गरेर छाडेको थियो । प्रमाण फेला परेपछि उनलाई फेरि पक्राउ गरिएको हो।

यसैबीच भागरथीका दाई शंकर भट्टले हत्यामा संलग्न छिमेकी १७ वर्षीय दिनेश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका छन् । भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई म्याद थपको लागि अदालत लगिएको छ।  भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनलाई दिउँसो २ बजे सार्वजनिक गरिने प्रहरीले बताएको छ।

  • ५ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech