प्रेममा इन्दिरा जोशी, भन्छिन्-औंठी मन परेर सार्वजनिक गरेकी हुँ, विवाहको तत्काल योजना छैन

असल शासन प्रतिनिधि

काठमाडौं : गायिका इन्दिरा जोशीले आफू प्रेममा रहेको स्वीकार गर्दै विवाहको बारेमा भने अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताएकी छिन् ।  भ्यालेन्टाइन डे सकिएको तीन दिनपछि इन्दिराले सामाजिक सञ्जालमा अपरिचित युवकले औंठी लगाइरहेको तस्बिर सार्वजनिक गर्दै दुई वर्ष देखि प्रेममा रहेको संकेत दिएकी थिइन् ।

इन्दिराले इकागजसँग कुरा गर्दै औंठी मन परेकाले क्याजुअल्ली सामाजिक सञ्जालमा सेयर गरेको बताएकी छिन् ।  ‘मैले भ्यालेन्टाइनको छेउछाउमा औंठी पाएकी थिएँ । औंठी मन परेर सेयर गरेकी थिएँ । यति धेरै प्रतिक्रिया आउला भन्ने लागेकै थिएन ’ उनले भनिन् ।

इन्दिराले केही दिन अघि इकागजसँगको कुराकानीमा आफ्नो विवाहका लागि अझै दुई वर्ष समय रहेको बताएकी थिइन् । दिदीको विवाह भर्खरै भएकाले आफूसँग अझै दुई वर्ष समय रहेको उनको प्रतिक्रिया थियो । ‘के यो समय नजिकै आएको हो ? इकागजको प्रश्नमा भने उनले जतिबेला पनि विवाह हुन सक्ने संकेत दिइन् ।

‘आजभोलि नै गरिहाल्ने भन्ने त होइन । मेरो धेरै आफन्त देशबाहिर हुनुहुन्छ । तत्काल उहाँहरू आउन सम्भव छैन,’ उनले भनिन्, ‘तर, थाहा छैन के हुन्छ ?’ इन्दिराले आफ्नो प्रेमी कला क्षेत्रको भने नभएको भने स्पष्ट पारिन् । त्योबाहेक बाँकी जानकारी भने समयसँगै सार्वजनिक गर्ने बताइन् ।

‘दुई वर्ष अघिदेखि एक दिन भेट भएको थियो । उहाँले मेरो गीत सुनेर वा मैले उहाँलाई चिनेर यो सब सुरु भएको हैन । यत्तिकै सुरु भएको हो,’ इन्दिराले कुरा टार्ने हिसाबले भनिन् ।

केही समय अघि ‘बेग हानी गाका’ बोलको गीत सार्वजनिक गरेकी इन्दिराले अब भने गम्भीर प्रकृतिका गीत मात्र गाउने बताएकी थिइन् । उनले सिधा सिधा गाउँदिन नभने पनि फिल्ममा रहने आइटम गीत भने गाउने रुचि नरहेको इकागजसँगको कुराकानीमा बताएकी थिइन् ।

– ई कागजबाट साभार

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech