मेयर राणा भक्कानिएपछि

दीपक चितामा जलिरहे, मेयरका आँशु झरिरहे ...

मन भण्डारी

नेपालगन्ज / नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाका स्वकीय सचिव दीपक श्रेष्ठ नियमित जस्तै मंगलबार बिहान मर्निङ वाक सकेर साढे ८ बजे घर गए । घर पुगेपछि उनको स्वास्थ्यमा एक्कासि जिउ काप्ने र चक्कर आउने समस्या आयो । परिवारका सदस्यहरु चिन्तित भए । एकैछिनमा श्रेष्ठका आफन्त र शुभचिन्तक जम्मा भई उनलाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज लगे ।मस्तिष्कघातको समस्या भएका श्रेष्ठको उपचारमा मेडिकल कलेजका चिकित्सकहरु तल्लीन भए । चिकित्सकले सफल उपचार भई ठीक हुने आश्वासन दिए पनि प्रमुख चिकित्सक अर्को बिरामीको शल्यक्रियामा व्यस्त भएकाले उनको शल्यक्रियामा ढिलाइ भयो । मंगलबार दिउँसो कोहलपुर मेडिकल कलेजमा रिफर गरियो । कोहलपुर मेडिकल कलेजमा श्रेष्ठको सफल शल्यक्रिया भएको चिकित्सकहरुले जानकारी दिएपछि उनका आफन्त र शुभचिन्तक खुसी भए । विडम्बना त्यो खुसी धेरैबेर टिकेन । मंगलबार दिउँसो ३÷४ बजे सफल शल्यक्रिया भएको जानकारी पाएका आफन्तहरुले बुधबार बिहान ७ बजे चिकित्सकको मुखबाट श्रेष्ठले सधैँका लागि सबैलाई छोडेर गएको जानकारी पाए । त्यसपछि त्यो खबर एकै छिनमा सबैतिर पुग्यो ।

कोहलपुर मेडिकल कलेजबाट श्रेष्ठको शव उनको घर पु¥याइयो । सबैका प्रिय, कसैसँग नराम्रो नबोल्ने, कसैको नबिराउने र कहिल्यै नरिसाउने स्वभावका श्रेष्ठको निधनको खबरले उनी कार्यरत नेपालगन्ज उपमहानगरपालिका परिवार पूरै शोकमा डुब्यो । नियमित कार्यालय आउने जनप्रतिनिधि र कर्मचारी निराश भए कार्यालयमा । बिहान ११ बजे उपमहानगरपालिकामा श्रद्धाञ्जली सभाको आयोजना गरियो । उक्त श्रद्धाञ्जली सभामा सहभागी सबै भावुक भए । सबैभन्दा बढी दुःखी र भावुक देखिए, उपमहानगरपालिका प्रमुख डाक्टर धवल शमशेर राणा । राणा श्रद्धाञ्जली सभामा बोल्नै नसकी भक्कानिएर रोए ।
आफ्नो नजिकको विश्वास पात्र गुमाउनु पर्दाको पीडा राणाले श्रद्धाञ्जली सभामा पोखे । श्रद्धाञ्जली सभा चलिरहेकै समयमा राणा आँशु थाम्न नसकेर त्यहाँबाट निस्किए । यताउता हेर्दा कतै नदेखेपछि राप्रपाका नेता ऋषिराज देवकोटा राणाको कार्यकक्षमा पुग्दा राणा कुर्सीमा बसेर भक्कानिएर रोइरहेका थिए । आफ्नो स्वकीय सचिव गुमाउनु पर्दाको पीडा राणालाई आमाबुबाको निधन हुँदाको जस्तैै भएको देवकोटाले बताए । देवकोटाले राणालाई सम्झाएर सभामा सहभागी गराए तर बोल्न भने सकेनन् । राणाका आँखाबाट लगातार आँशु झरिरहेका थिए,’ नेता देवकोटाले भने,‘सम्हालिन मुस्किल पर्‍यो उहाँलाई ।’
श्रद्धाञ्जली सभामा उपप्रमुख उमा थापा मगरलगायतले श्रेष्ठको तस्बिरमा अबिर अर्पण गर्दै श्रद्धाञ्जली दिएका थिए । बुवा स्व. श्री बहादुर श्रेष्ठ र आमा कमला देवी श्रेष्ठका कान्छा सन्तान हुन् दीपक । सबैका प्रिय, हसिलो मुहारका साथ सबैलाई समान व्यवहार गर्ने श्रेष्ठ २०७६ जेठ १५ गतेदेखि नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख राणाको स्वकीय सचिवको रूपमा कार्यरत थिए । नेपालगन्ज उपमहानगरपालिकामा जाने जोसुकै पनि उनको व्यवहारबाट खुसी भएर फर्किने गर्दथे ।

टेबल टेनिसका राष्ट्रिय खेलाडी श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर कार्यसमिति सचिव समेत थिए । नियमित रूपमा प्रेसरको औषधी सेवन गर्दै आएका श्रेष्ठको मस्तिष्कघातका कारण निधन भएपछि उनको परिवारका सदस्यलाई अपुरणीय क्षति पुगेको त छ नै, उपमहानगरपालिका, सिङ्गो समाजलाईनै क्षति पुगेको सबैले महसुस गरेका छन् ।
४९ वर्षीय श्रेष्ठका १ छोरी र १ छोरा छन् । विभिन्न सामाजिक कार्यमा सक्रिय श्रेष्ठको बुधबार नै बाँकेको राप्ती नदीमा अन्तिम दाहसंस्कार गरिएको छ । उनको निधनको खबर सुनेदेखि अथाह पीडामा रहेका उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाका आँखा राप्ती नदी पुग्दा पनि ओभाएनन् । श्रेष्ठका दाइ प्रदीप श्रेष्ठले दागबत्ती दिइरहेको बखत राणा नजिकै आँशु पुछिरहेका थिए, उनी कसैसँग बोल्न सकिरहेका थिएनन् । श्रेष्ठ चित्तामा जलेर खरानी भइसक्दा पनि राणा नजिकै बसेर आँखाबाट आँशु झारिरहे, टोलाई रहे ।

श्रेष्ठको अन्तिम दाहसंस्कारमा हजारौंको संख्यामा उनका आफन्त, शुभचिन्तक, जनप्रतिनिधि र कर्मचारीहरु राप्ती नदी पुगेका थिए । असल स्वभावका मृतक श्रेष्ठको चिरशान्तिको कामनासहित असल शासन परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech