न्याय पाए भन्दै १४ दिनपछि भागरथीको शव आफन्तले बुझे

असल शासन प्रतिनिधि

कैलाली/ बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टका परिवारले १४ दिनपछि उनको शव बुझेका छन् । अभिभावकको रोहवरमा बयान लिने क्रममा अभियुक्तले बलात्कारपछि हत्या गरेको अभियोग स्वीकारेपछि भागरथीका परिवारले शव बुझ्ने भएका हुन्। बलात्कार पछि हत्या अभियोगमा पक्राउ परेका भागरथीका नातामा भाइ पर्ने १८ वर्षीय दिनेश भट्टले घटनाबारे पूर्ण रुपमा अस्वीकार नगर्दा भागरथीका परिवारजनमा आशंका उब्जिएको थियो ।

आरोपी भट्टले बलात्कार नगरेको तर हत्या गरेको स्वीकार गरेपछि भागरथीको पोर्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएको थियो । सोही कुरालाई आधार बनाएर परिवारजनले हत्यारप्रति आशंका गरेका थिए ।

१४ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको भागरथीको आजै महाकाली नदीको शेरा आर्यघाटमा हिन्दू संस्कारअनुसार अन्तिम संस्कार गरिने मृतक भागरथीका दाजु केशव भट्टले बताएका छन् । उनले अभियुक्त आफ्नै परिवारको सदस्य भए पनि प्रहरीले न्याय दिएको अनुभूति महसुस भएको बताए ।

गत माघ २१गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लवलेक सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन् । उनको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने परिवारको अडानपछि २३ गतेदेखि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको थियो।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech