अब हवाई मार्गबाटै पोखरा सरर्र

असल शासन प्रतिनिधि

नेपालगन्ज/ विगतमा नेपालगन्ज–पोखराको रुटमा हवाई उडान नहुँदा यात्रु तथा पर्यटकलाई निकै सास्ती भोग्नु परेको थियो । उनीहरुलाई  नेपालगन्ज हुँदै अन्य हवाई रुटमार्फत् पोखरा पुग्नु पर्ने बाध्यता थियो । सोही कुरालाई मध्यनजर गर्दै नाट्टा बाँके च्याप्टर र गण्डकी प्रदेश नाट्टाले नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज चार्टर उडानको व्यवस्था जुराइदिएको छ । जुन सेवा शुक्रबारदेखि सुरु भएको छ ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले कोरोनापछि सबैभन्दा मारमा परेको पर्यटन क्षेत्रको प्रवर्द्धन लागि चार्टर उडान सुरु गरिएको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शमशेर राणाको नेतृत्वमा बाँके र बर्दियाका पर्यटन व्यवसायीलगायतको १८ सदस्यीय टोली पोखरा प्रस्थान गर्ने र त्यत्तिकै संख्यामा पोखराका पर्यटन व्यवसायीहरु नेपालगन्ज आउनेछन् । पोखराका पर्यटन व्यवसायीहरुले भने बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको अवलोकन गर्नेछन् । लामो समयदेखि बाँकेका पर्यटन व्यवसायीले नेपाल सरकारसँग नेपालगन्ज पोखरा उडानको व्यवस्था गर्न दबाब दिँदै आएका थिए । पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले हरेक हप्ता दुई उडान भर्ने तयारी भएको बताए ।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech