असल शासनको २० औं वार्षिकोत्सवमा विगतदेखि वर्तमानको चर्चा

असल शासन प्रतिनिधि

नेपालगन्ज/भ्रष्टाचारविरुद्ध २० वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको असल शासन पोष्ट साप्ताहिकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार अन्तक्र्रिया गरेको छ । अन्तक्र्रियामा पत्रिकाको विगतदेखि वर्तमानसम्मको यात्रा बारे वर्णन गरिएको थियो ।
संस्थापक सहसम्पादक हुँदै १९ वर्षदेखि सम्पादकको जिम्मेवारी सम्हालिरहेका नमस्कार शाहले अनौपचारिक सुरुवात गर्र्दै भने,‘२० वर्षदेखिको अनवरत यात्रा जारी छ, समूह कार्य, निरन्तरता, खोजमूलक समाचार, आकर्षक शीर्षक, चोटिलो प्रस्तुतिले असल शासन सबैको विश्वासयोग्य हुन सफल भएको छ ।


हवाई पत्रिका प्रकाशन गर्ने भनेर सुरु गरिएको प्रयास मासिक, त्रैमासिक हुँदै मासिक, पाक्षिक, पुनः मासिक हुँदै साप्ताहिकको रूपमा प्रकाशन भइरहेको असल शासनबाटै पत्रकारिता आरम्भ गरेका धेरै व्यक्तिहरु पत्रकारितामा स्थापित भएको शाहले बताए ।
शाहले असल शासन प्रकाशनका क्रममा विभिन्न धाक, धम्की, चुनौतीका बाबजुत निरन्तर अघि बढिरहेको बताए । उनले विभिन्न घटना क्रमलाई स्मरण गरे ।


असल शासनबाटै पत्रकारितामा प्रवेश गरी प्रतिनिधि हुँदै, सहसम्पादकको जिम्मेवारी पूरा गरी हाल कार्यकारी सम्पादकको रूपमा कार्यरत हेमराज भट्टले विकृति, विसङ्गतिविरुद्ध असल शासनले चोटिलो प्रहार गरिरहेको बताए ।
प्रतिनिधि हुँदै हाल प्रबन्ध सम्पादकको रूपमा कार्यरत मन भण्डारीले अवैध गर्भपतनबारे लेखिएको समाचारका कारण ज्यान मार्ने धम्की सहेको कुरालाई स्मरण गरे । उनले भने,‘जस्तोसुकै परिस्थितिमा पनि असल शासन कसैसँग झुकेको छैन ।’


प्रतिनिधि हुँदै विशेष प्रतिनिधि, सहसम्पादकको जिम्मेवारीबहन गरी हाल कार्यकारी सम्पादकको रूपमा कार्यरत राजु लामिछानेले खोजमूलक समाचार, आकर्षक शीर्षकका कारण असल शासन लोकप्रिय भएको बताए । उनले चर्चित समाचार र समाचारका शीर्षकबारे बोलेका थिए । बासका जनसम्पर्क विभाग प्रमुख कमल शाहीले असल शासनको आकर्षक शीर्षकले आफू पत्रिकाको नियमित पाठक हुन पुगेको बताए ।
बासका महासचिव शिवकुमार बर्माले कार्यक्रम समापन गर्दै सुशासन स्थापनाका लागि पत्रिकाले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । कार्यक्रममा असल शासन मिडियामा कार्यरत सञ्चारकर्मी, बास पदाधिकारी, कर्मचारी र स्वयम्सेवकको उपस्थिति रहेको थियो ।

  • ८ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech