अविचलित असल शासन

जहाँ मोफसलमा विभिन्न व्यवसायिक सञ्चार माध्यमहरु दशक बिताउन त हम्मेहम्मे पर्छन् । त्यहीँ भ्रष्टाचारविरुद्धको बिट अँगालेको यो असल शासन साप्ताहिक आफ्नो प्रकाशनकालदेखि अनवरत छ ।

भाईराजा श्रीबास्तव

भ्रष्टाचारविरुद्धको लेखनलाई मोफसलबाट पत्रकारितामार्फत् लगातार २० वर्षसम्म अनवरत राख्नु कुनै चानचुने कुरा होइन । भ्रष्टाचारको पर्दाफास, सुशासनको पहरेदारी र फ्लोअप गर्दै अगाडि बढ्दै जाने यात्राले आज २० वर्ष पूरा गर्नु साँच्चिकै आफैंमा सुशासनमुखी सफलताको अमर गाथा हो । यस्तो अमर गाथा बोकेको गौरवपूर्ण पत्रिका हो- असल शासन साप्ताहिक। जुन पत्रिका गलत कुराको खुलेर विरोध गर्छ, कुनै अभाव र प्रभावमा पर्दैन र भ्रष्टाचारीहरुको ढाँडमा टेकेर कडा लेखनको माध्यमद्वारा टाउकोमै हान्छ।

त्रैमासिक हुँदै हाल साप्ताहिक रुपमा छापा अनि अनलाइनको माध्यमबाट प्रकाशित र प्रसारित पनि छ । जहाँ मोफसलमा विभिन्न व्यवसायिक सञ्चार माध्यमहरु दशक बिताउन त हम्मेहम्मे पर्छन् । त्यहीँ भ्रष्टाचारविरुद्धको बिट अँगालेको यो असल शासन साप्ताहिक आफ्नो प्रकाशनकालदेखि अनवरत छ । यसका हरेक प्रकाशित अङ्कले केही खास सामाग्री समेटेकै हुन्छ, जुन यो पत्रिकाको खास विशेषतानै मानिन्छ । यस्तो गौरवपूर्ण “असल शासन साप्ताहिक” को एक सहयात्री म पनि रहेँ, मलाई साँच्चिकै यसमा गर्व छ । यस पत्रिकामा मैले लामो समय काम गर्दाका धेरै रोमान्चक अनुभवहरु छन् । असल शासनमा लेखिएकै कारण कतिपय समाचारका सरोकारवालाहबाट साम, दाम, दण्ड र भेद बाट प्रकाशन टीमलाई लक्ष्यबाट डग्माउने हकर्त हिजोका दिनमा पनि नभएका होइनन्। तर असल शासन प्रकाशक, सम्पादन टीम हिजो पनि अविचलित थियो, आजपनि अविचलित नै पाइएको छ र भोलि पनि अविचलित रहोस् – एक पुरानो सहयात्रीको यही शुभकामना ।

(श्रीवास्तव असल शासन साप्ताहिकका पूर्व सह-सम्पादक हुन् )

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech