सडक छेउ पार्किङ गर्नेलाई जरिवाना

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सडक छेउ पार्किङ गर्नेलाई अब ट्राफिक कार्यालय बाँकेले जरिवाना तिराउने भएको छ । जिल्ला प्रशासन कार्यालय, भेरी अस्पताल अगाडि हुँदै चारबाहिनी चोकसम्म जथाभाबी पार्किङ गर्नेले अबदेखि जरिवाना तिर्नुपर्ने भएको हो।

दिनहुँजसो सरकारी निकायमा सेवाग्राहीको भीडभाड अत्यधिक हुँदा जथाभाबी पार्किङ गरिएको सवारी साधनले दुर्घटना हुन सक्ने भएकाले कारबाही स्वरुप जरिवाना तिराइने भएको नेपालगन्ज ट्राफिक पोस्टका प्रमुख प्रहरी नायब निरीक्षक सिद्दीगणेश शाहले बताए । फागुन ९ गतेदेखि यस अभियानलाई प्रहरीले तीव्रता दिएको छ ।

सोमबार भेरी अस्पताल अगाडि जथाभाबी सवारीसाधन पार्किङ गरेर अस्त व्यस्त रुपमा छोडिएका आधा दर्जन मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रामलीला मैदानमा नयाँ बनेको पार्किङ स्थलमा पार्किङ गर्न अनुरोध गर्दा पनि अटेर गरेका आधा दर्जन मोटरसाइकललाई नियन्त्रणमा लिई जरिवाना गरिएको नायब निरीक्षक शाहले बताए ।

जथाभावी पार्किङ गरेको जनगुनासो बढेपछि ट्राफिक प्रहरी बाँकेले अव्यवस्थित पार्किङलाई रामलीला मैदानमा सारेको नायब निरीक्षक शाहले बताए ।

अबदेखि ट्राफिक प्रहरीले सवारीसाधन चालकलाई रामलीला मैदानमा पार्किङ गर्न अनुरोध गर्नेछ भने अटेरी गर्नेलाई १ हजार रुपैयाँ जरिवाना तिराइने ट्राफिक प्रहरीले बताएको छ ।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech