हात्ती पाइलेविरुद्ध विशेष अभियान चलाइँदै

असल शासन प्रतिनिधि

बाँके–नेपालगन्ज उप–महानगरपालिकाले हात्ती पाइले रोगविरुद्धको औषधी बढी भन्दा बढी नागरिकलाई सेवन गराउनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ । उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा भएको स्थानीय तह स्तरीय योजना तथा बहु निकाय गोष्ठीमा हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान–२०७७ लाई सफल पार्न हात्ती पाइले रोगविरुद्धको औषधी सेवन कम भएका वडामा विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको हो ।

उपप्रमुख मगरले विशेष योजनासहित वडास्तरमा जान स्वास्थ्य शाखालाई आग्रह गरिन् । उनले अभियानको सफलताका लागि राजनीतिक दल, धर्मगुरु, नागरिक समाजका अगुवालगायत सबैको साथ आवश्यक भएको बताइन् । उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले हात्ती पाइले रोगविरुद्धको औषधी सेवनका लागि वडास्तरदेखि विशेष कार्यक्रमलाई जोड दिइने बताए ।

स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले हात्ती पाइले रोग निवारणका लागि हरेक वडामा ६५ प्रतिशत भन्दा बढी सेवन गर्नेहरु हुनुपर्ने बताए ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले फागुन २९ देखि सञ्चालन हुने अभियानमा यसपटक नगरका २३ वटा वडालाई विभिन्न क्लष्टरमा विभिजित गरी कार्यक्रम प्रभावकारी बनाउन लागिएको बताए । नेपालगन्जमा यसपटक एक लाख ४९ हजार ९२ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ ।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech