अवैध रकमसहित बाबुछोरा पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज – अवैध रकम बोकेर भारत जान लागेका बाबुछोरालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरस्थित दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी उनीहरु भारततर्फ जान लागेका थिए । उनीहरुलाई बुधबार अबेर साँझ नियन्त्रणमा लिए आवश्वक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरलाई बुझाएको छ। उनीहरुलाई बोर्डर आउट पोष्ट कुतियाकभरबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा वीरगञ्ज उपमहानगरपालिका–१६, श्रीपुर घर भई अस्थायी रूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह र उनका २३ वर्षीय छोरा प्रयाससिंह ठकुरी रहेका छन् ।

पक्राउ परेकासँग भारतीय रूपैयाँ दुई हजार दरको ६३ थान र ५०० दरको ३४८ थान गरी तीन लाख रूपैयाँ र नेपाली २७ हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। साथै कुकुर बाँध्ने गोल्डेन कलरको दुई थान चेनसमेत बरामद गरिएको उनले जानकारी दिए।  विदेशी मुद्रा अपचलनअन्तर्गत कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बरामद रकमसहित दुवैलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरको भनाइ छ।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech