सिडिओको पहलमा घर भत्काउने सहमति

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज गुलरिया सडक खण्डको मानपुरस्थित दुर्घटनाको उच्च जोखिममा रहेको घर भत्काउने सहमति भएको छ । जानकी गाउँपालिकाको मानपुरस्थित सडक मोडमा बाटो मिचेर वर्षौदेखि भत्काउन अटेरी गरिरहेको घरधनीले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको पहलपश्चात् घर भत्काउन सहमत भएका हुन् ।

मानपुरस्थित सडक मोडमा रहेको शान्ति देवी सिंहको घर नजिक यस अघि कैयौँ दुर्घटना भइसकेका छन् । मोडमा रहेका अवस्थित साँघुरो सडक र घरले दुर्घटनाको उच्च जोखिम रहेको सो घर भत्काउने सहमतिसँगै सवारीचालकहरूमा खुसी छाएको छ । वर्षौदेखि पहल गर्दा समेत भत्काउन नमानेको घरधनीले प्रशासनको पहलमा समिति गठन गरी घर र संरचना हटाउने सहमति गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले असल शासनलाई बताए । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङका अनुसार फागुन १४ गते शुक्रबार उक्त घर हटाइ सडक बिस्तार गर्ने घरधनीसँग सहमती भएको हो ।

गत फागुन ७ गते प्रमुख जिल्ला अधिकारी कुरुम्वाङको अध्यक्षतामा घर धनीसहित बसेको सरोकारवाला निकायको बैठकले संरचना हटाइ प्रचलित कानुन बमोजिम घरको क्षतिपूर्ति र जग्गाको हकमा कानुन अनुसार मुआब्जा प्रदान गर्ने निर्णय गरेपछि घर धनी र स्थानीय सरोकारवालाबीच सहमति भएको थियो । सडक विस्तारको बाधकको रूपमा रहेको सो घर भत्काउने सहमति भएसँगै नेपालगन्ज गुलरिया सडक खण्ड बिस्तार प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech