के हो ‘कृषि एप’ ?

असल शासन प्रतिनिधि

नेपालगन्ज/ विकासका लागि सूचना तथा सञ्चार प्रविधि विषयक कार्यशाला गोष्ठी शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ । कार्यक्रममा कृषिपथ मोबाइल एपको विषयमा जानकारी गराइएको थियो । डिजिटल कृषि ज्ञान र अनलाइन बजार प्रणालीको बिस्तार गरी बजार व्यवस्थापन गर्ने उद्देश्यले कृषक तथा कृषि समूहसँग छलफल गरिएको हो ।

कार्यक्रम उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले कृषिको बजारीकरणमा एपले सहयोग पुग्ने हुँदा सहकार्यका लागि तयार भएको बताए । साथै उनले कृषि अनुदान वास्तविक किसानलाई प्रदान गर्नु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह,जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादव, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष सुनिलसिंह हमाल, कृषि ज्ञान केन्द्र बाँकेका दिनेश भट्टराई, केयर नेपालका केशवदक्त भट्ट, माधव श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीले कृषि एपबाट कृषि बजार व्यवस्थापनको कामसँगै कृषक र व्यापारी बीचको सम्बन्ध पनि विस्तार गर्न आवश्यक रहेको बताएका थिए । कृषि एपभित्र मौसम विज्ञान, परामर्श केन्द्र, एग्रोभेट तथा कृषि सामाग्री र बिक्री मूल्यबारे समेटिएको छ । कार्यक्रम घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना तथा केयर नेपालको सहयोगमा भएको हो । पुस १ गते लुम्बिनी प्रदेशका कृषि मन्त्री आरती पौडेलले कृषि एपको शुभारम्भ गरेकी थिइन् ।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech