अब घरमै पुगेर २४ सैँ घण्टा नर्सिङ सेवा, के–के छन् त सुविधा ?

साबित्री गिरी

नेपालगन्ज/मानव शरीर कतिबेला थला पर्छ पत्तो हुँदैन । बिरामीले एक्कासि सताएको बेला कहाँ जाने र कुन चिकित्सकलाई भेट्ने भन्ने कुराले अलमल पार्ने गर्छ । आफन्तहरु पनि आत्तिएका हुन्छन् । राम्रो विशेषज्ञ सेवा नपाउँदा कतिपयको त अकालमा नै ज्यान जान्छ ।

कोरोना भाइरस जस्ता महामारीका बेला त यस्तो समस्या अधिकांश नागरिकहरुले झेले । यी र यस्तै समस्या समाधान गर्ने उद्देश्यले शनिबार नेपालगन्जमा होलेस्टिक होम केयरको उदघाट्न गरिएको छ ।

होम केयरको एक कार्यक्रमका बीच जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ शाहले उद्घाटन गरे । उद्घाटन गर्दे उनले यो अभियानले बिरामीहरुलाई स्वास्थ्यको पहुँच बढाउने भन्दै खुसी व्यक्त गरे ।

घरमा पुगेर स्वास्थ्य सेवाका लागि सहजीकरण गर्ने उद्देश्यले सञ्चालित होलेस्टिक होम केयरमा नेपालगन्जमा कार्यरत नर्सिङ र फिजियो थेरापिस्टहरुको संलग्नता रहेको छ ।

होम केयरको अध्यक्षतमा बसन्ती बिसी, सचिवमा सुमन गिरी, सदस्यहरुमा अनिता थापा, एङगीरा रेग्मी, रन्जु श्रेष्ठ, मधु ज्ञवाली, प्रतीक्षा डाँगी नर्सिङ क्षेत्रबाट रहेका छन् भने फिजियो थेरापिस्टमा डाक्टर खेमा भण्डारी रहेकी छिन् ।

होम केयरको उदघाट्न कार्यक्रममा भेरी अस्पतालका मेट्रोन दुर्गा लक्ष्मी श्रेष्ठ, नेपालगन्ज मेडिकल कलेजका मेट्रोन ममता शर्मा, युरोलोजिस्ट डाक्टर दिनेश गुप्ता, बालरोग विशेषज्ञ डाक्टर बिनोद खेतान, नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डाक्टर विनोद कर्ण, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहलगायतको सहभागिता रहेको थियो । शनिबारबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० गणेशमान चोक नजिकै सञ्चालनमा आएको होलस्टिक होम केयरमा २० जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।

बिरामीले फोन गरेको आधारमा घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने तथा अवस्था हेरी अस्पतालसम्म ल्याएर स्वास्थ्य सेवा प्रदानमा सहजीकरण गर्ने होलेस्टिक होम केयरका अध्यक्ष बसन्ती बिसीले बताइन् ।

  • १५ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech