सुर्जीगाउँको निर्माणाधीन सडक अलपत्र

सडक विस्तार र स्तरोन्नति गर्ने सम्बन्धमा सबै स्थानीय सहमत भएपछि सडक निर्माण कार्य सुरु भएको थियो तर पछि गएर स्थानीय शर्मादेवी यादव, मिट्ठुलाल यादव र आँधी यादव भन्ने अक्षम प्रसाद यादवलगायतले घर नभत्काउने अडान लिएपछि योजनाको सम्पूर्ण काम रोकिएको छ ।

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सार्वजनिक रूपमा गरेको सहमतिविरुद्ध केही स्थानीय गएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ सुर्जीगाउँको निर्माणाधीन सडक अलपत्र परेको छ । सडक विस्तारको क्रममा सो सडक खण्डमा परेका  करिब २५ घर भत्काइसकेको भए पनि ३ घरले भत्काउन नमानेपछि निर्माण कार्य लथालिङ भएको हो ।

सडक विस्तार र स्तरोन्नति गर्ने सम्बन्धमा सबै स्थानीय सहमत भएपछि सडक निर्माण कार्य सुरु भएको थियो तर पछि गएर स्थानीय शर्मादेवी यादव, मिट्ठुलाल यादव र आँधी यादव भन्ने अक्षम प्रसाद यादवलगायतले घर नभत्काउने अडान लिएपछि योजनाको सम्पूर्ण काम रोकिएको छ ।

सडक निर्माणका क्रममा घर, धर्मशाला र मन्दिरको इनारसमेत भत्काइँदा समेत उनीहरूले आफ्नो संरचना भत्काउन मानेका छैनन् ।
१९३ मिटर लम्बाइ र ८ मिटर चौडाइ सडक निर्माण भइरहेको नेपालगन्ज उपमहानगरपालिका योजना शाखाले जानकारी दिए पनि बाटोको चौडाइ भने ७.६० मिटरदेखि लिएर घुमाउरो मोडमा ७.८० मिटर मात्रै रहेको स्थानीय बताउँछन् । नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाको सडक स्तरोन्नति गर्न निकासा भएको २० करोड रूपैयाँको बजेटबाट उक्त सडक निर्माण भइरहेको बताउँदै एउटा योजनाको मात्रै कति बजेट हो भन्ने कुरा यकिनका साथ भन्न नसकिने नेपालगन्ज उमपहानगरपालिकाका योजना शाखाका इन्जिनियर भूपेन्द्र बोहराले बताए ।

सुर्जीगाउँ अर्जुन यादवको मिलदेखि दक्षिण गुरुदिन धोबीको घर हुँदै फिरोज खटिकको मिलसम्मको सडक दुवैतर्फ नालासहित ८ मिटर स्तरोन्नति गरी कालोपत्रे गर्ने भन्दै सडक क्षेत्रभित्र पर्ने सम्पूर्ण भौतिक संरचना ७ दिनभित्र हटाउन २०७७ असार ११ गते सूचना प्रकाशन गरेको देखिन्छ । वडाको सूचनालाई स्थानीयद्वारा बेवास्था भएपछि वडाले पुनः २०७७ असार २६ गते ५ दिनमा संरचना भत्काउन सूचना जारी गरेको थियो । वडाको सूचनामा भौतिक संरचना ५ दिनभित्र नभत्काए बाटो निर्माणको योजना अन्यत्र जानेसमेत उल्लेख गरेको देखिन्छ ।

घरदैलोमा आएको सडक योजना अलपत्र परेको टुलुटुलु हेरिरहेका बहुमत प्राप्त स्थानीयले केही घरले सडक निर्माण कार्यमा बाधा पु¥याएपछि घर तथा भौतिक संरचना हटाउन र निजहरू उपर आवश्यक कार्यबाही गरिदिनका लागि ८९ जनाले नेपालगन्ज उपमहानगरपालिका र वडालाई सामूहिक रूपमा पटक–पटक निवेदन दिएको देखिन्छ । उपमहानगरपालिकाले वडाको समस्या वडामै गएर मिलाउनु भन्दै फर्कादिएको स्थानीय बेदप्रसाद जैसवालले गुनासो गरे । नगरपालिका गए वडामा पठाउँछ वडामा गएपछि सक्दैन भन्ने जवाफ आउँछ हामी कहाँ जाने पीडित स्थानीयको गुनासो छ । अहिले सो सडकमा घरबाट पानी आइ हिलाम्ये र जलाम्ये हुँदा दुर्घटनाको थप जोखिम निम्तिएको छ । जसको मारमा यात्रु र स्कुल जाने विद्यार्थी समेत परेका छन् ।

यस विषयमा वडा नम्बर १९ का वडाध्यक्ष प्रशुराम कुर्मीले पटकपटक घर भत्काउने विषयमा छलफल हुँदा समेत उनीहरूले घर भत्काउन नमानेको बताए । घर भत्काउने विषयलाई लिएर उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणासहितको टोली त्यहाँ गएर समस्या समाधान गर्न खोजे पनि प्रयास असफल भयो उनको भनाइ थियो । घर भत्काउने विषयमा छलफल गर्न जाँदा घर मालिकले आफूलाई गाली बेइज्जती गरेको बताउँदै वडा कार्यालयले त्यस विषयलाई गम्भीर रूपमा लिएको प्रतिक्रिया दिए । हामी छलफल गरेर समस्या समाधान गर्नेतर्फ लागिरहेका छौं उनले बताए । योजना सम्पन्न नहुँदै भएको किचलोले जनप्रतिनिधको सक्षमतामाथि समेत प्रश्न खडा गरेको छ । त्यसैले सडक विस्तारका विषयमा भएको किचलो यथाशक्य समाधान गरी विकास निर्माण पूर्ण गर्न सरोकारवालाको ध्यान जान जरूरी देखिन्छ ।

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech