आर्थिक संकटले बन्द हुने अवस्थामा पुग्यो ‘दिवा सेवा’

२०४९ सालदेखि सुरु भएको दिवा सेवालाई प्राप्त हुँदै आएको वैदेशिक अनुदान रोकिएपछि केन्द्रमा आर्थिक संकट उत्पन्न भएको छ । जानकारी अनुसार, २०४९ सालदेखि अमेरिकन नागरिक फादर कोरन ज्याकको सहयोगमा सुरु भएको सेवा केन्द्र सञ्चालनका लागि उनले १६ लगातार वर्ष आर्थिक सहयोग गरेका थिए ।

असल शासन प्रतिनिधि

नेपालगन्ज/बौद्धिक अपाङ्गता भएका बालबालिकाको दिवा सेवा केन्द्र बन्द हुने अवस्थामा पुगेको छ । बाँके जिल्लाको नेपालगन्ज वडा नम्ब्र ९ स्थित सरस्वती आधारभूत विद्यालयमा रहेको एक मात्र दिवा सेवा केन्द्र चरम आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको हो ।

२०४९ सालदेखि सुरु भएको दिवा सेवालाई प्राप्त हुँदै आएको वैदेशिक अनुदान रोकिएपछि केन्द्रमा आर्थिक संकट उत्पन्न भएको छ । जानकारी अनुसार, २०४९ सालदेखि अमेरिकन नागरिक फादर कोरन ज्याकको सहयोगमा सुरु भएको सेवा केन्द्र सञ्चालनका लागि उनले १६ लगातार वर्ष आर्थिक सहयोग गरेका थिए । मंगलप्रसाद माविमा लामो समय सञ्चालन भएको सो सेवा केन्द्रका लागि ६ जना शिक्षक, ४ जना रिक्शा चालक र २ जना आय कार्यरत थिए । तत्पश्चात् सेवा केन्द्र मुक्तिपुरमा बहाल लिएर बसेको सेवा केन्द्र १० वर्षदेखि बाँके गाउँस्थित सरस्वती आधारभूत विद्यालयमा सञ्चालन हुँदै आएको थियो ।

सुस्तमनस्थिति अभिभावक संघ नेपालगन्जद्वारा सञ्चालित सो केन्द्रलाई बीचमा जिल्ला शिक्षा कार्यालयबाट २ वर्ष अनुदान प्राप्त भयो, जसबाट केन्द्र सञ्चालन गर्न सहज भयो–संघका अध्यक्ष गोकर्ण आचार्यले भने,‘शिक्षा कार्यालयको अनुदान कटौतीपछि नेदरल्याण्डका वाइने रोवर्टशनले १० वर्षदेखि सहयोग गरिरहेका थिए ।’

आचार्यका अनुसार, रोवर्टशनले वार्षिक ४ देखि ५ लाख रूपैयाँ सेवा केन्द्रका लागि सहयोग गर्दथे, कोरोना कहरपश्चात् गत वैशाखमा उनले सहयोग गर्न नसक्ने जानकारी गराए, जसबाट सेवा केन्द्र आर्थिक संकटमा गएको हो । बाह्य सहयोगबाहेक कुनै पनि श्रोत नभएको सो सेवा केन्द्रको मासिक खर्च ६० हजार रूपैयाँ छ, जसबाट शिक्षक, रिक्शा चालकको पारिश्रमिक, बालबालिकाको खाजा खर्चदेखि केन्द्र सञ्चालनमा खर्च हुन्छ । विगत लामो समयदेखि न्यून तलबमा बिराज सिंहले केन्द्रमा आउने बौद्धिक अपाङ्गता भएका बालबालिकालाई पढाउने काम गरिरहेकी छिन् ।

बालबालिकालाई खेल, मनोरञ्जन, अभ्यास, व्यवाहारिक ज्ञानका माध्यमबाट पठनपाठन गराइने सिंहले बताइन् । प्रत्येक बालबालिकाको व्यक्तिगत फाइल बनाई अवस्था के थियो, के सुधार भयो भन्ने कुराको विवरण राखिने गरेको उनले बताइन् । उनका अनुसार, बालबालिकाहरूलाई सचरित्र वर्णन गराएर अनकुरण गराउने गरिन्छ । बखतबहादुर मल्ल, नरेन्द्र स्वार हुँदै सेवा केन्द्र सञ्चालन गर्ने संस्था सुस्तमनस्थिति अभिभावक संघको नेतृत्व हाल गोकर्ण आचार्यले सम्हालिरहेका छन् । उनको अथक पहलमा सेवा केन्द्र सञ्चालन भइरहेको छ । सेवा केन्द्रलाई आर्थिक समस्या त छ नै, केन्द्र सञ्चालनका लागि आवश्यक भौतिक पूर्बाधारको अभावका साथै बालबालिकामैत्री वातावरण छैन । केन्द्र रहेको सरस्वती विद्यालयले समय–समयमा विभिन्न खाले समस्या सृजना गरिरहेको हुन्छ ।

कोभिडका साथै आर्थिक संकटका कारण लामो समय बन्द रहेको सो केन्द्रलाई फागुन १६ गतेदेखि पुनः सञ्चालन गर्ने निर्णय संस्थाले गरेको अध्यक्ष आचार्यले बताए । उनका अनुसार, खर्च व्यवस्थापनका लागि हालसम्म निःशुल्क पठनपाठन भइरहेको केन्द्रमा अध्ययन गर्न आउने प्रतिविद्यार्थी १५ सय रूपैयाँ मासिक यातायात खर्च लिने गरी केन्द्र सञ्चालन गरिने भएको छ । केन्द्र बन्द हुनु पूर्व ३२ जना बौद्धिक अपाङ्गता भएका बालबालिका अध्ययन गर्न आउने गर्थे । बालबालिकाका लागि ३ वटा रिक्शा केन्द्रमा रहेका छन् ।

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech