‘अम्बे’को मनपरीमा सरोकारवाला मौन !

नेपाल बिद्युत प्राधिकरण र नेपालगन्ज उपमहानगरपालिकाले अम्बे स्टिललाई कानुनी दायरामा ल्याउन पत्राचार गर्ने बताए पनि अहिलेसम्म कुनै पहल नथालेको पाइएको छ ।

असल शासन प्रतिनिधि

नेपालगन्ज/ एकप्राइभेट कम्पनीले मनपरी बिद्युत पोलमा राखेको व्यवसायिक विज्ञापनका विषयमा सरोकारवाला मौन देखिएका छन् ।
नेपालगन्ज–राँझा सडक खण्डको दायाँ–बायाँ बिद्युत पोलमा विगत लामो समयदेखि नेपालको ठूलो भनिएको ‘अम्बे स्टिल्स’ नामक कम्पनीले सम्बन्धित निकायको अनुमति बेगर मनोमानी तवरले विज्ञापन राख्दै आएको छ ।

सो विषयमा अशल शासन पोष्टले समाचार तयार पार्दा सम्बन्धित निकाय नेपाल बिद्युत प्राधिकरण र नेपालगन्ज उपमहानगरपालिकाले अम्बे स्टिललाई कानुनी दायरामा ल्याउन पत्राचार गर्ने बताए पनि अहिलेसम्म कुनै पहल नथालेको पाइएको छ ।

विद्युत पोलमा विज्ञापनसहितको बोर्ड झुन्ड्याउनु वा पेन्टिङ गर्नु पूर्व विद्युत प्राधिकरणसँग अनुमति लिनु पर्ने भए पनि अनुमति बेगर नेपालगन्जका प्रत्येक विद्युत पोलमा ‘अम्बे स्टिल’को रङ्गिन विज्ञापन देखिन्छ । नेपालका प्रतिष्ठित कम्पनीबाट नै नियमको उल्लङ्घन गरी मनोमानी तवरले विज्ञापन राख्न थालेपछि अन्य व्यवसायिक प्रतिष्ठानले समेत आफ्नो व्यवसायिक विज्ञापन विद्युत पोलमा राख्न सुरु गरेको देखिन्छ । विद्युत पोल पोतिएको तथ्याङ्क संकलन गरेको नेपालगन्ज उपमहानगरपालिकाले पनि यस विषयमा सरोकारवालाको ध्यानाकर्षण गराएको देखिँदैन ।

नेपालगन्ज उपममहानगरपालिकाका राजस्व शाखा प्रमुख वीरबहादुर थापाले यस विषयमा पहल थालिने बताए पनि हालसम्म काम भने थालिनसकेको प्रतिक्रिया दिए । राजस्व उठाउने जिम्मा स्थानीय तहको भएता पनि सहर नै कुरूप बनाउने गरी भएको यो कार्यप्रति ध्यानदृष्टि नपुग्नु दुःखद् हो । नेपालगन्ज उपमहानगरपालिका जस्तै जिल्लाभर ‘अम्बे स्टिल’ले विज्ञापन राख्दै आएको छ । नियम मिचेर पोल–पोलमा विज्ञापन गर्ने अम्बे स्टिल कम्पनी सँग सम्पर्क गर्ने प्रयास गरेता पनि सम्पर्क हुन सकेन ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech