बढैयातालमा सांकेतिक भाषा तालिम

असल शासन प्रतिनिधि

बर्दिया/  अपाङ्गता भएका व्यक्तिको सूचना तथा सञ्चारमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सांकेतिक भाषा शिक्षा तालिम सुरु गरिएको छ । बर्दियाको बढैयाताल गाउँपालिकामा ४५ दिने आधारभूत सांकेतिक भाषा शिक्षा तालिम सुरु गरिएको हो । तालिममा स्थानीय निकायबाट प्रदान गरिने सेवासुविधाबारे समेत जानकारी गराइने छ ।

बढैयाताल गाउँपालिकाको आयोजना र बढैयाताल स्तरीय अपाङ्गता समन्वय समितिको सहकार्यमा सञ्चालन हुने तालिमबारे जानकारी गराउँदै गाउँपालिकाकी उपाध्यक्ष दिपाकुमारी गौतमले अपाङ्गता भएका व्यक्तिको लागि संविधान र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ मा भएका व्यवस्थालाई व्यहारमा लागु गर्दै बढैयाताल गाउँपालिकालाई अपाङ्गतामैत्री पालिका बनाई सेवासुविधा सहज र सरल रुपमा प्रवाह गरिने उद्देश्यले तालिम सञ्चालन गरिएको बताइन् ।

तालिममा अपाङ्गता भएका व्यक्ति, सेवा प्रदायक निकाय र अपाङ्गता सरोकारवाला संस्थाका प्रतिनिधिलगायत २० जनाको सहभागिता रहने छ भने तालिममा सांकेतिक भाषाका दोभाषे प्रशिक्षक प्रकास लामिछानेले प्रशिक्षण गर्नेछन् ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech