आफूले खिचेको फोटो आफैंले अवलोकन गर्दा…

सावित्री गिरी

नेपालगन्ज/ आफूले खिचेको फोटो आफैंले अवलोकन गर्दाको क्षण कस्तो हुन्छ ? यो प्रश्न फोटो ग्राफर अथवा फोटो पत्रकारलाई सामान्य लागेता पनि अन्यलाई भने फरक अनुभूति हुनु स्वभाविक नै हो । यस्तै अनुभूति गर्ने अवसर अन्तरालले जुराइदिएको छ ।

नेपालगन्जस्थित होटल बाटिकामा भएको फोटो प्रदर्शनीका सहभागीको अनुहारमा त्यो अनुभूति महसुस गर्न सकिन्थ्यो । आफूले खिचेको फोटो प्रदर्शनीमा देखेपछि नेपालगन्जका पत्रकार निशु जोशीले खुसी व्यक्त गरिन् । उनले केही समय यता फोटोग्राफीमा रुचि देखाउँदै आएकी छिन् । पत्रकार जोशीले खिचेकामध्ये बाढीमा उद्धार गरेको, सिलाइकटाइ र शिक्षा आर्जन गर्दै गरेको तस्बिर फोटो प्रदर्शनीमा देखिन्थ्यो ।

जोशी जस्तै नेपालगन्जका अधिकारकर्मी रेखा श्रेष्ठले पनि आफूले खिचेको फोटो प्रदर्शनीमा देखेपछि आनन्द महसुस गरेको बताइन् । अधिकारकर्मी श्रेष्ठ कामका सिलसिलामा देखिने फरक खालका र सन्देश दिने खालका तस्बिर खिच्न रुचि रहेको बताउँछिन् । अधिकारकर्मी श्रेष्ठको एक महिने सुत्केरीले इँटा बनाउँदै गरेको तस्बिर प्रर्दशनीमा राखिएको छ ।

प्रदर्शनीमा देशभरका विभिन्न पेसामा आबद्ध व्यक्तिले खिचेका १ सय ५० बढी फोटो प्रदर्शनीमा राखिएको आयोजक अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले बताए । उनले यो दोस्रो फोटो फेस्टिबल भएको र फोटोग्राफी प्रतिको रुचि आम जनमानसमा बढ्दै गएको बताए । फोटो खिच्ने र संस्कृति परम्परा जोगाउँदै एक ठाउँको राम्रो कुरा अर्को ठाउँमा पुगोस् भन्ने उद्देश्यले यो अभियानको सुरुवात गरिएको उनले बताए ।

प्रदर्शनीमा समाचार, दैनिक जीवन, खेलकुद, पर्यटन र संस्कृति, वन्यजन्तु र प्रकृति र नेपाल स्माइल गरी ६ विधामा फोटो प्रदर्शन गरिएको छ । फोटो प्रदर्शनीको मंगलबार एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले उदघाट्न गरे । उनले यस्ता प्रयोगिताले समाजको यथार्थ झल्काउने बताउँदै खुसी व्यक्त गरे । कार्यक्रममा नेपाल फोटो पत्रकार कल्बका अध्यक्ष विकास कार्कीले फोटो खिच्ने मात्र नभई यसलाई धेरै भन्दा धेरै व्यक्ति समक्ष पु¥याउनु पर्छ भन्ने सन्देश फोटो फेस्टिबलले दिएको भन्दै आफूले खिचेका फोटोहरु यस्ता कार्यक्रममा समावेश गर्न सुझाव दिए । फोटो प्रदर्शनी फागुन १८ देखि १९ गतेसम्म हुने छ भने प्रदर्शनीमा तोकिएका विधामा उत्कृष्ट हुनेले ५ हजार र सर्वोत्कृष्ट हुनेले २५ हजार नगद रुपैयाँ हात पार्ने छन् ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech