बालबालिकाका लागि तीन महिने शैक्षिक कक्षा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ श्रमिक तथा विद्यालय बाहिर रहेका बालबालिकाका लागि ३ महिने शैक्षिक कक्षाको मंगलबार उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा सो कक्षाको उद्घाटन भएको हो ।

शैक्षिक कक्षा उद्घाटन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष परसराम कुर्मीले विभिन्न कारणले विद्यालय जान नसकेका बालबालिकाको छनोट गरी सुरु गरिएको कक्षा बालबालिकाको शैक्षिक आधार भएको विश्वास व्यक्त गरे । तीन महिनाको अवधिमा कक्षामा सहभागी बालबालिकालाई विद्यालय जाने गरी तयार गरिदिन उनले अनुरोध गरे । यसैगरी कार्यक्रममा बोल्दै वडा सदस्य बफाती बेहनाले वडामा रहेका विपन्न तथा गरिब परिवारका बालबालिकाको छनोट गरी सुरु गरिएको कक्षाले बालबालिकालाई विद्यालय जान उत्प्रेरित गर्ने बताए ।

कार्यक्रममा बोल्दै वडा नम्बर १९ का सचिव तेजेन्द्र रोकायाले कक्षा सञ्चालनमा वडाबाट आवश्यक पर्ने सहयोगका लागि वडा प्रतिबद्ध रहने बताए । कार्यक्रममा बोल्दै सामाजिक विकास डिभिजन कार्यालय बाँकेका अधिकृत छैठौं बालकृष्ण चौधरीले विद्यालय बाहिर रहेका र श्रमिक बालबालिकालाई विद्यालय जान उत्प्रेरित गर्न कक्षा संचालन गरिएको बताए । यसैगरी सामाजिक विकास डिभिजन कार्यालयका गुमान न्यौपानेले सहभागी बालबालिकालाई समयमा कक्षामा पठाउन अभिभावकलाई अनुरोध गरे । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा उद्देश्य माथि प्रकाश बासका निर्देशक हेमराज भट्टले गरेका थिए ।

बासका सहजकर्ता शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा वडा अध्यक्ष कुर्मी, सदस्य बेहना, सचिव रोकाया, सामाजिक विकास डिभिजनका गुमान सिंह न्यौपाने, बालकृष्ण चौधरी, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, बासका जनसम्पर्क विभाग प्रमुख कमल शाहीलगायतको उपस्थिति रहेको थियो । सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जको सहयोगमा बास नेपालगन्जले सुरु गरेको शैक्षिक कक्षामा नेपालगन्ज उपमहानगरपालिका विभिन्न वडाका ३० जनाको सहभागिता रहेको छ ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech